मनोज माझी
राजविराज, जेठ १३ । आफ्नो तीन पुस्तादेखी मोही दर्ता रहेको जग्गा किर्ते गरी अर्कैको नाममा नामसारी गरिएको घटनालाई पीडितद्वारा छानवीनको माग गरिएको छ ।
राजविराजमा मंगलवार पत्रकार सम्मेलन गरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका बालकृष्ण खड्गाले यस्तो गुनासो गरेका छन् ।
उक्त प्रकरणको उच्चस्तरीय छानवीन हुनुपर्ने उनले माग समेत गरेका छन् । गाउँघरमा कतै कुनै सुनुवाई नभएपछि न्यायका लागि सदरमुकाम राजविराज आइपुगेका पीडित खड्गाले तत्कालीन भारदह गाविसका प्राविधिक एवंम सचिव महेन्द्र मुखिया र स्थानीय लालमोहन झा, अरबिन्द झा, बिनिता झा लगायतको मिलोमतोमा किर्ते मान्छे र कागजात खडा गरी आफ्नो जग्गा अर्कैको नाममा नामसारी गरिएको दाबी गर्दै पीडितद्वारा छानवीनको माग गरिएको छ ।
उनले बाउबाजेको पालादेखी २००४ सालमै मोही दर्ता गरी भोगचलन गर्दै आएको आफ्नो १२ कठ १८ धुर जग्गा नक्कली मान्छे र किर्ते कागजातको भरमा झा परिवारको नाममा नामसारी गरिएको आरोप लगाए ।
उनले यस कार्यमा तत्कालीन भारदह गाविसका सचिव मुखियाले मुख्य भूमिका निर्वाह गरेको दाबी समेत गरे । उनले तत्कालीन गाविसको कर्मचारी नै नरहेका मटर साह हलुवाईलाई गाविसको कार्यालय सहयोगीको रुपमा प्रस्तुत गरी किर्ते कागजातहरु तयार गरेर भूमिसुधार कार्यालयमा पेश गरिएको बताए ।
मालपोतले अन्याय गरे
उनले मालपोत कार्यालयले आफू संग अन्याय गरेको आरोप लगाएका छन् । मालपोत कार्यालयले पनि सोही कागजातको आधारमा एक पक्षीय रुपमा आफ्नो नाउँको मोही दर्ता खारेज गरि अन्याय गरेको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा खड्गा सँगै उपस्थित रहेका उनले उक्त प्रकरणको सत्यतथ्य छानवीन गरी दोषिमाथि कारवाही हुनु पर्ने माग समेत गरेका छन् ।




