काठमाडौँ, जेठ १५ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आज (बिहीबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दैछन्।
सरकारले बजेटको सबै तयारी पूरा गरेको छ। उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेल तथा मन्त्रालयका उच्च अधिकारीहरुले रातभर बसेर बजेटलाई अन्तिम रुप दिएका छन्।
गए राति ११ बजेपछि बजेटमा करका दर हेरफेरि गरिएको मन्त्रालय स्रोतले जानकारी दियो। करका दर हेरफेर पटक पटक विवादित बनेपछि यसपटक होसियारी पूर्वक बजेटको अन्तिम कामका रुपमा करका दर निर्धारण गरिएको हो। करका दर हेरफेर गरेपछि छाप्न पठाइएको छ।
एक अधिकारीका अनुसार आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री पौडेलले १९ खर्बभन्दा बढीको बजेट ल्याउने भएका छन्। स्रोतको चर्को दबाबका बीच मन्त्री पौडेलले कर्मचारीको तलब बढाउने दाबी गरिएको छ। प्रत्येक दुई वर्षमा कर्मचारीको तलब बढ्ने चलन भए पनि तीन वर्ष भएकाले यसपटक थोरै मात्रामा भए पनि तलब बढाइने भएको छ। कर्मचारीको तलब १० प्रतिशतभन्दा कम दरमा तलब बढ्ने भएको हो।
बजेटमा निजी क्षेत्रलाई खुशी पार्ने खालका कार्यक्रम पनि समावेश गरिएका छन्। सांसद विकास कोषले घुमाउरो रुपमा यसपटक निरन्तरता पाउनेछ। संघीय निर्वाचन क्षेत्रमा न्युनतम २२ करोड पर्ने गरी योजनाहरु समावेश गरिएका छन्। यसपटक सरकारले तीन करोडभन्दा साना आयोजनालाई समावेश नगर्ने बताइएको छ।
यसैबीच भिजिट भिषा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका छन्। राष्ट्रियसभा चल्न दिए पनि प्रतिनिधिसभा विपक्षीले मंगलबार र बुधबार रोकेका थिए।
बिहीबार बजेट प्रस्तुत गर्न दिन भने विपक्षी दलहरु तयार भएका छन्। बजेटको मिति संविधानमै उल्लेख भएकाले त्यसको कार्यान्यन गर्नु आफूहरुको पनि दायित्व भएकाले प्रस्तुत गर्न तयार भएका छन्।
बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले विपक्षी दलहरुको आन्दोलन जारी रहेको जनाउँदै बिहीबार संसद चल्न दिने बताए। उनले भने, ‘देशकै शिर निहुराउने काम भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण जस्तै भ्रष्टाचार भएको छ। हाम्रा एजेण्डालाई कायम राख्दै आज सदन चल्न दिन्छौँ।’
विपक्षी दलहरुले सदन चल्न दिएपछि अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गरेका छन्। अबको केहीबेरमा मन्त्रिपरिषद बैठक बसेर बजेटलाई अनुमोदन गरेपछि दिउँसो ३ बजे बस्ने संयुक्त सदनको बैठकमा बजेट प्रस्तुत हुनेछ।






