लहान, जेठ १६ । जनमत पार्टी र प्रदेश सरकार विरुद्ध सल्हेस पासवान समाज लहानले खवरदारी जुलुस निकालेका छन् । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका जनमत पार्टी र प्रदेश सरकारले सल्हेस फुलवारी मै भारतीय नेता भीम राव अम्वेडकको नाममा पार्क निर्माण गर्न अडान लिएपछि स्थानीय पासवान समाज आन्दोलित भएका छन् ।
पासवान समुदायले कुलदेवताको रुपमा मान्ने प्रतापि वलशाली सल्हेसलाई अव्हेलना गर्दै भारतीय नेताको शालिक सहितको पार्क निर्माण गर्न थालेपछि आफ्नो संस्कृति, परम्परा र रितिरिवाजमाथि जनमत पार्टीले प्रहार गरेको भन्दै उनीहरु आज विरोध रैली निकालेका छन् ।
लहान स्थितका हाइस्कुलवाट निकालिएको सो रैली लहान बजारको विभिन्न भागको परिक्रमा गरी पुनः हाइस्कुलमै पुगि कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै पासवान समुदायका अगुवाहरुले कुनै हालतमा त्यहाँ अम्वेडक पार्क निर्माण हुन नदिने चेतावनी दिएका थिए । उनीहरुले अम्वेडकको गाथा हाम्रो महाराजा, कुलदेवता सल्हेस भन्दा पुरानो र समाजकालागि प्रेरणाको श्रोत हुननै नसक्ने दावी गरेका थिए ।
अम्वेडकरको भूमिका भारतवाट अंग्रेजलाई लखेट्ने, दलित एकताकोलागि उनले धेरै सराहनीय र प्रसंसनिय कार्य गरे तर, त्यसले नेपालका दलितहरु लाभान्वित हुन नसक्ने भन्दै कुनै व्यक्तिलाई भगवान संग तुलना गर्नु आफैमा मुर्खतापूर्ण विचार रहेको उनीहरुले बताएका थिए । केही दिन पूर्व केही चमार समुदायका व्यक्तिहरुलाई जनमत पार्टीले आफ्नो प्रलोभनमा पारेर दलित दलित बीच खाल्डो खन्ने काम गरेको र त्यसमा केही दलितहरु फसेको समेत उनीहरुले आरोप लगाएका थिए ।
दलित–दलित बीचकै एकतालाई विखण्डन गरेर जनमत पार्टीले दलितको शुभचिन्तक बन्ने प्रयास असफल तुल्याउन पासवान समुदायहरु एक भएर जनमत पार्टी र प्रदेश सरकार विरुद्धमा लड्ने चेतावनी दिएका थिए । विगतमा सम्पन्न निर्वाचनमा आफूहरुले समेत जनमत पार्टीलाई मतदान गरेको भन्दै पासवान समुदायका अगुवा नेताहरुले भने–‘भविष्यमा हुने गल्तीहरु मध्ये सवै भन्दा ठूलो गल्ती भनेको नै जनमत पार्टीलाई मतदान गर्नु सावित भएको छ ।’
पासवान समुदायका नेता कार्यकर्ताहरुले चमार समुदायलाई दलित–दलित वीचको खाल्डो नबन्न आग्रह समेत गरिएको थियो । आज सल्हेसमाथि जनमत पार्टी र प्रदेश सरकार धावा बोलेका छन् भोली चमार जातिमाथि बोल्दैन त्यसको कुनै ठेगान नगरहेको भन्दै उनीहरुले चमार समुदायलाई समेत आफ्नो आन्दोलनमा सहभागि भई दलित–दलित बीच भाइचारा र एकताको नमुना प्रस्तुत गर्न पासवान समुदायले आग्रह गरेका छन् ।
अम्वेडक पार्क सल्हेस फुलवारीमै किन ?
जनमत पार्टी र प्रदेशसरकारले सल्हेस फुलवारीमा निर्माण गर्न लागेको अम्वेडक पार्कले सल्हेसलाई देश विदेशमा चिन्हाउने दावी गरेको छ । जनमत पार्टी र प्रदेश सरकारले १० धुर जग्गामा निर्माण गर्न लागेको सो पार्कले देश विदेशमा आफ्नो शक्ति र बुद्धिले परिचित सल्हेसलाई चिन्हाउन अम्वेडक पार्कले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको दावी छ ।
मधेश क्षेत्रमा जातिगत हिसावले अति नै पिछडिएका पासवान समुदायहरुले कुलदेवताको रुपमा पूजा पाठ गर्ने सल्हेसलाई चिन्हाउन अव अम्वेडकरको सहायता लिनु परेको छ । बैशाख १ गते सल्हेस फुलवारीमा फुल्ने फुल हेर्न मात्रै लाखौ जनता सवै थोक छोडेर पुग्ने गरेको भए पनि जनमत पार्टी र मधेश प्रदेश सरकारले त्यसलाई निरुत्साहित गर्नकै लागि अम्वेडकर पार्क निर्माण गर्न लागेको पासवान समुदायको आरोप छ ।




