सत्तारुढ दल जनमत र एमाले भित्र आन्तरिक कलह



जनकपुरधाम, जेठ १७ । सत्तारुढ दल जनमत र नेकपा एमाले वीच मधेश प्रदेशमा आन्तरिक कलह चर्किएको छ ।

मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका जनमत पार्टी र सत्तारुढ दल भित्र आन्तरिक द्वन्द्व भित्रभित्रै चर्किए कै कारण आज भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री सतिशकुमार सिंह अनुपस्थित भएका थिए ।



भौतिक पूर्वाधार विकास मन्त्रालयले एक निर्वाचन क्षेत्र एक पक्की सडकको विषयमा जानकारी दिन र भोली जेठ १८ गते सो कार्यक्रमको शिलान्यास नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिनकालागि बोलाइएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री सिंह भने अनुपस्थित भएका थिए ।

स्रोतका अनुसार सप्तरीका एक योजनाको शिलान्यास प्रधानमन्त्री ओलीले गरेका थिए तर, केही दिन पूर्व मात्र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले फेरि त्यसै योजनाको शिलान्यास गरेपछि दुवै पार्टी भित्र आन्तरिक द्वन्द्व चर्किएको छ । मधेश प्रदेश सरकार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले यि शिलान्यास गर्ने कार्यक्रम पहिला निर्धारण नरहे पनि केही दिन देखि मात्रै शिलान्यासको चर्चा चलेको छ, जसले जनमत अध्यक्ष सिके राउतले शिलान्यास गरेको विरुद्धको इगो रहेको स्पष्ट हुन्छ ।

प्रधानमन्त्री ओलीले भोली (आइतवार) मधेश प्रदेशका विभिन्न सडकहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ, मधेश सरकारको ६४ निर्वाचन क्षेत्रमा दोस्रो चरण अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे सडकको जेठ १८ गने आइतबार शिलान्यास गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले जानकारी दिएका थिए ।

मधेश प्रदेशका ८ वटा जिल्लाका प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा ५ किलोमिटरको दरले ३ सय २० किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण हुनेछ ।

१२ अर्ब ७० करोडको लागतमा बन्ने सो सडकको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा भोली दिउँसो १ बजे डिजिटल प्रविधि मार्फत गर्ने कार्यक्रम तय भएको मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री यादवले जानकारी दिए ।

तर, मधेश प्रदेश सरकारका नेतृत्व जनमत पार्टीले गरेका कारण सो शिलान्यास जनमत पार्टीका अध्यक्ष डा. राउतले गर्ने मुख्यमन्त्री सिंहको अडान थियो । मधेश प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी (जसपा) नेपालले गर्दा सप्तरीमा शिलान्यास भएको मधेश कृषि विश्व विद्यालयको प्रशासनीक भवनको शिलान्यास जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए जवकी शिक्षा मन्त्री तत्कालीन समयमा जनमतका महेशप्रसाद यादव थिए ।

सोही उदाहरण देखाएर मुख्यमन्त्री सिंहले आफ्नो पार्टीका अध्यक्षले शिलान्यास गर्ने अडान लिए पछि एमालेका मधेश प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री यादवले भने आज आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री सिंहलाई नै कुनै जानकारी गराएका थिएन् ।

पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रधानमन्त्रीले शिलान्यास गर्ने सडकको निर्माण कार्य ३ वर्षको अवधिमा पुरा गरिने जानकारी दिएका थिए । मन्त्री यादवले सडक निर्माणका लागि स्रोतको सुनिश्चितता भएर निर्माणको प्रक्रिया अगाडि भएपछि शिलान्यास गरिन लागेको र सडकको ठेक्का प्रक्रिया सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयहरूमा भइसकेको जानकारी दिए । पहिलो चरण अन्तर्गत ६४ निर्वाचन क्षेत्रमा ३ सय २० किलोमिटर सडक निर्माण अगाडि बढाएकोमा त्यस मध्ये २ सय किलोमिटर सडकको निर्माण भइसकेको मन्त्रालयका निमित्त सचिव संजय कुमार साहले जानकारी दिए ।

शिलान्यास हुने सडकहरू मध्ये गाउँ क्षेत्रमा फरक र सुहाउँदो प्रविधि तथा गाउँ बाहिर स्फाल्ट प्रविधिको कालोपत्रे गरिने भएको मन्त्रालयले जनाएको छ । सडकको चौडाई साढे पाँच देखि ७ मिटरसम्मको हुने मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

यसका साथै मन्त्रालयले ८ वटै जिल्लाका ६४ प्रदेश सभाका निर्वाचन क्षेत्रमा १–१ वटा पक्की पुलको निर्माण गरिने गरि प्रक्रिया अगाडि बढाउनुका साथै सडक निर्माण गर्दा जलवायु परिवर्तनबाट परेको प्रभावको असरलाई न्यून गर्ने गरि काम भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार १५:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको