बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

मधेशसहित पाँच प्रदेशमा वर्षाको पूर्वानुमान, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने


काठमाडौं, कात्तिक १० । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुन सक्नेछ।

चक्रवात अक्टोबर २८ अर्थात् कात्तिक १२ गते भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। यसको प्रभावले नेपालमा कात्तिक १२ गतेदेखि मौसम बदली हुने र कात्तिक १३ तथा १४ गते केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार गण्डकीदेखि कोशी प्रदेशसम्म भारी वर्षाको सम्भावना छ। विभिन्न मौसम पूर्वानुमान मोडेलले फरक–फरक अनुमान देखाएकाले वर्षाको मात्रा र अवधि भने अझै निश्चित भइसकेको छैन।

यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। प्रतिकूल मौसमले जनजीवन तथा हिमाली क्षेत्रमा हुने आवागमन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै यात्रामा निस्कनुअघि मौसमको अद्यावधिक सूचना लिन र सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १०, मंगलवार ०७:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको