जनकपुरधाम, जेठ १८ । प्रदेश गौरवका योजनाले निरन्तरता पाओस भन्ने सुझाव मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत दिएका छन् । जनकपुरधाममा आयोजित मधेश प्रदेश सरकारको ६४ निर्वाचन क्षेत्रमा दोस्रो चरणको सडक शिलान्यास कार्यक्रममा उनले सो सुझाव दिएका छन् ।
उनले भने–‘मधेश प्रदेश सरकारले मात्रै ५० प्रतिशत महिलालाई आरक्षण दिएको छ, यो मात्र यस्तो प्रदेश हो जहाँ छोरी जन्मने वितिक्कै तीन लाखको विमा उपलव्ध गराइने कार्यक्रमहरु ल्याइएको थियो ।’ पूर्व मुख्यमन्त्री राउतले विगतका सरकारले आम जनताको हितमा ल्याएका प्रदेश गौरवका योजनाले निरन्रता दिन वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहलाई सुझाएका थिए ।
मुख्यमन्त्री सिंह र शिक्षा मन्त्री रानी शर्मा तिवारीलाई सुझाव दिँदै पूर्व मुख्यमन्त्री राउतले भने–‘छोरी शिक्षा विमा कार्यक्रम यसरी नै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुभारम्भ गराएका थियौं, त्यतिवेला नेपाल सरकारले ५० करोड रुपैयाँ विशेष अनुदान दिएका थिए ।’
छोरी विमा कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो बढेको भन्दै प्रदेश सभा सदस्य समेत रहेका पूर्व मुख्यमन्त्री राउतले प्रदेशका गौरवका आयोजनाहरुलाई निरन्रता दिन सुझाव दिँदै अम जनतालाई फाइदा पुग्ने प्रकारको योजना ल्याउन सुझाव समेत दिएका थिए ।




