काठमाण्डौ , जेठ १८ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान रिहा नगरे भोली देखी उपत्यका बन्द गर्ने चेतावनी दिएका छ ।
राजावादी आन्दोलनको चौथो दिन नारायण चौरमा जम्मा भएका आन्दोलनकारीहरु बालुवाटार तर्फ बढन लाग्दा प्रहरीले कमल थापालाई पक्राउ गरे पछि लिङ्देनले यस्तो चेतावनी दिएका हुन ।
थापालाई पक्राउ गरेपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’
उनले थपे, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं ?’
कमल थापालाई फिर्ता गर्न माग गर्दै लिङ्देनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’
राप्रपा, राप्रपा नेपालसहितका राजावादी दलहरुले राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको माग गर्दै यही जेठ १५ गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यो आन्दोलनलाई निर्णायक बनाउने बताएका छन् ।
आज उनीहरुले नक्शाल र बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज गरेको थियो ।
कमल थापा प्रदर्शनकारीको नेतृत्व गर्दै बालुवाटारतर्फ अघि बढ्न खोजेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापासहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।
थापालाई पक्राउ गर्ने क्रममा प्रहरीले लाठी चार्ज समेत गरेको छ । सो क्रममा केही व्यक्ति घाइते समेत भएका छन ।






