रञ्जन यादब
बारा, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गरौं, प्रदूषण घटाऔं भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस–२०८२ को अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले बृक्षरोपण गरेको छ ।
उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वृक्षरोपण कार्यक्रम गरिएको बातावरण ईन्जिनियर पुष्पा सिँहले जानकारी दिइन् । उक्त कार्यक्रम अन्तर्गत उपमहानगरपालिका वडा नं. ३ अन्तर्गत पर्ने राजमार्गको छेउछाउमा विभिन्न प्रजातिका ५ सय बिरुवा रोपिएको छ ।
नगर प्रमुख राजन पौडेलले कार्यक्रमको सुरुवात गर्दै वृक्षरोपण गरेर अभियानको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख पौडेलले साना प्रयास, ठूलो परिणाम–वातावरण संरक्षण हाम्रो काम भन्ने सन्देश दिँदै सबैलाई वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
विश्व वातावरण दिवसको अवसरमा उनले वृक्षरोपणलाई दीर्घकालीन वातावरणीय सन्तुलनको आधारका रूपमा लिएर हरेक नागरिकले आफ्नो ठाउँबाट यस्तो प्रयासमा सहभागी हुनुपर्नेमा जोड दिए । वृक्षरोपण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका सदस्य तथा कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।




