सर्लाही, जेष्ठ २२ । गोडैता नगरपालिका वडा नं. ६ बगदह स्थित चिनी मिल नजिक रामनगर गाउँपालिका अध्यक्ष पदको प्रत्याशी तथा नेपाली कांग्रेसका नेता हरिनन्दन रायको स्कर्पियो दुर्घटनापछि उत्पन्न विवादले नयाँ मोड लिएको छ।
रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले नेपाली कांग्रेसले उक्त दुर्घटनालाई नियोजित रूपमा राजनीतिक रंग दिँदै निर्दोष व्यक्तिहरूलाई फसाउने षड्यन्त्र गरिरहेको गम्भीर आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत कडा सन्देश दिँदै यादवले भनेका छन्, ‘शक्ति र सत्ताको आडमा कांग्रेस नेताहरूले बिना प्रमाण र कारण निर्दोष जनतालाई झूटा मुद्दामा फसाउने प्रयास गरेका छन्। गाउँपालिका कर्मचारीदेखि सर्वसाधारणसम्मलाई आतङ्कित बनाउने यस्ता गतिविधिको हामी घोर भर्त्सना गर्दछौं।’
उनले स्पष्ट चेतावनी दिँदै भनेका छन्, ‘यदि यस्ता मनोमानीपूर्ण झूटा मुद्दाहरू चलाइए भने, जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनविरुद्ध कडा भन्दा कडा आन्दोलन छेडिनेछ।’
अध्यक्ष यादवको आरोपपछि कांग्रेस नेतृत्वले गरेका सडक प्रदर्शन, नारा–जुलुस र प्रहरीमाथिको दबाबको उद्देश्यप्रति पनि प्रश्न उठ्न थालेको छ। स्थानीय तहका जनप्रतिनिधिहरूले यस घटनालाई शक्तिको दुरुपयोगका रूपमा बुझेका छन्।
यस घटनाले सर्लाहीको राजनीतिक मैदानमा दलगत चलखेल, प्रहरी प्रशासनको निष्पक्षता, र कानुनी प्रक्रियाको विश्वसनीयता सम्बन्धी बहसलाई चर्काएको छ।




