मनोज माझी
राजविराज,जेठ २३ । सप्तरीको सुरुङ्गा नगरपालिका ८ मल्हनमा टोलमा डकैती गर्न आएका डाका समूह बिरुद्ध प्रतिकारमा उत्रेका एक जना घरपट्टीको निर्मम ढंगले हत्या गरिएको छ । प्रतिकारका क्रममा अर्का एक जना गम्भिर घाइते भएका छन् ।
बिहीबार मध्यराती १ बजेतिर कन्तलाल चौधरीको घरमा हतियारसहित आएको ५/६ जनाको डाका समूहले लुटपाट गर्दै गरेका बेला प्रतिकार गर्न खोज्दा उनको गोली र घरेलु हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ । गोली र खुकुरी प्रहारबाट गम्भिर घाइते भएका ५६ वर्षिय चौधरीलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । उनको शव अहिले पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पु¥याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
डाकाका प्रतिकारका क्रममा मृतकको काकाका छोरा ४० वर्षिय रमाकान्त चौधरी गम्भिर घाइते भएका छन् । उनको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
हतियारसहित आएका डाकाहरु घरमा प्रवेश गरि दराजहरु फुटाउन थालेपछी परिवारका सदस्यहरु प्रतिकारमा उत्रिदा भएको हो–हल्ला सुनेर छेउमै रहेको घरबाट आएका रमाकान्त चौधरीमाथी समेत डाका समूहले घरेलु हतियारबाट अन्धाधुन्द आक्रमण गरेको छिमेकीहरुले बताएका छन् ।
विद्युत गएको तथा चर्को गर्मीका कारण घरका एक महिला सदस्य बाहेक परिवारका अन्य सबै सदस्य आंगनमा खाट राखी झुल लगाएर सुतिरहेका बेला अचानक आइपुगेका डाका समूहले हतियार देखाउँदै सबभन्दा पहिले घरधनीसँग दराजहरुको साँचो खोसेर लुटपाट सुरु गरेको वडाअध्यक्ष श्यामदेव साहले बताए ।
प्रहरीका अनुसार चौधरीको घरबाट ५ तोला सुनको गरगहना, २ किलो चाँदीका गरगहना, नगद ५५/६० हजार र अन्य केही सरसामान लुटपाट भएको छ । घटनास्थलबाट प्रहरीले एउटा गोली खोका र तीन वटा गोली समेत बरामद गरेको छ ।
घटनाको खबर पाएपछी पुगेको प्रहरी टोलीले तालिम प्राप्त कुकुर समेतको प्रयोग गरेको छ । कुकुरले गरेको संकेत समेतलाई अनुसन्धानको पाटोमा राखेर घटनाको अनुसन्धान तथा फरार डाकाको खोजि कार्य व्यापक बनाइएको प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिए ।






