राजविराज, जेठ २४ । अन्य कतिपय क्षेत्रमा अनियमितता र भ्रष्टाचारका घटना सार्वजनिक भइरहेका बेला यो “रोग” र प्रवृती स्वास्थ्य क्षेत्रमा समेत सरेको पाइएको छ ।
सरकारले स्वास्थ्य विमा मार्फत विमित बिरामीलाई दिने निशुल्क औषधी र उपचार सेवामा अनियमितता देखिएको हो । स्वास्थ्य संस्थाले विभिन्न बहाना र लाचारी देखाउन थालेपछी बिरामी र उनका आफन्त ठगिन थालेका छन् । विपन्नलाई उपचारमा राहत पु¥याउने उद्देश्यले सरकारले सर्वसाधारणसँग केही न्युन रकम लिएर स्वास्थ्य विमा कार्यक्रम लागु गरेको छ । विशेष गरि कम आय श्रोत भएका तथा विपन्न समुदायका व्यक्तिले सरकारले तोेकेको रकम तिरेर स्वास्थ्य विमा गराएका छन् ।
तर यसको लाभ लिने बेला विभिन्न वहाना देखाउँदै अस्पतालले सेवा सुविधा नदिदा बिरामीहरु ठगिन थालेका छन् । जसको पछिल्लो उदाहरण बनेको छ, सरकारको मातहतमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालको “औषधी बिक्रि केन्द्र” ।
अस्पताल परिसरमै रहेको उक्त केन्द्रमा कहिल्यै चिकित्सकद्वारा लेखिए अनुसारको औषधी नपाइने बिरामी र उनका आफन्तले गुनासो गरेका छन् ।
शुक्रबार सो अस्पतालका डा. आदर्श सिंहलाई जचाएपछी औषधी लिन उक्त केन्द्रमा जाँदा पूर्जामा लेखिएको ९ मध्ये ३ वटा औषधी मात्र पाइएको राजविराज ४ का विक्रान्त परियारले गुनासो पोखे । “सस्तोमा पाइने ३ वटा औषधी मात्र दिइयो, उनले भने, बाँकी ६ वटा औषधी सकेको छ बजारमै किन्नु भनेर फर्काइदिए ।”

राजगढ गाउँपालिका ६ बाट ७ वर्षिय छोरा अशोकलाई जचाउन आएकी सुलोचना मण्डलले सोही अस्पतालमा डा. कालिप्रसाद यादवसँग स्वास्थ्य परिक्षण पश्चात् उनले लेखिदिएको पूर्जा लिएर उक्त केन्द्रमा जाँदा ७ मध्ये २ वटा औषधी मात्र पाइएको गुनासो गरिन् । उनले समस्या पर्दा सस्तोमा उपचार सेवा र औषधी पाइने आशमा पूरै परिवारको ३ हजार ५ सय रुँपैया तिरेर स्वास्थ्य विमा गराएको भएपनि अहिले समस्या पर्दा विमाको समुचित लाभ पाउन नसकि ठगिएको महसुस भएको बताइन् ।
मण्डल र परियार मात्र होइन् । उक्त औषधी केन्द्रमा पुग्ने जो कोही बिरामी र उनका आफन्तको यस्तै गुनासो छ । सरकारले स्वास्थ्य विमा गराएका विमितका लागि एकातिर न्यून मात्रामा औषधी पठाउने अर्कोतिर उपलब्ध औषधीमा पनि औषधी केन्द्रमा खटिएका कर्मचारीले गडबडी गर्ने गरेको स्थानीयको आरोप छ ।
समस्या यति मात्र होइन् । आवश्यक जनशक्तिको अभावमा अस्पतालमा रहेको एचडियु सेवा विगत चार महिनादेखी बन्द छ । अस्पताल आउने बिरामी सो जाँचका लागि चर्को शुल्क तिरेर बाहिर प्रइभेट क्लिनिकमा जान बाध्य छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्ट डा. प्रकाश साहले औषधी र जनशक्तिको अभाव बारे आफूले सम्बन्धीत विभागमा जानकारी गराई समाधानका लागि पहल गरिरहेको बताएका छन् ।







