काठमाडौं, जेठ २६ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब रिटर्नीको प्रतिनिधित्व केन्द्रमा पनि हुने घोषणा गरेका छन् ।
सोमबार रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रिटर्नीहरुको तर्फबाट प्रतिनिधित्व हुनेगरी पार्टीको केन्द्रीय समितिमा पनि राख्नुपर्यो भन्ने प्रस्ताव आएको भन्दै अअब केन्द्रमा प्रतिनिधित्व हुने घोषणा गरेका हुन् ।
उनले भने,‘जहिले पनि मलाइ भनिरहने र मैंले जहिल्यै हुन्छ भन्ने गरेको तर नभएको विषय छ । रिटर्नीहरुको तर्फबाट प्रतिनिधित्व हुनेगरी पार्टीको केन्द्रीय समितिमा पनि राख्नुपर्यो भन्ने प्रस्ताव थियो । म आज यहाँ उभिएर भन्छु रिटर्नीको प्रतिनिधित्व अब केन्द्रमा हुन्छ ।’
त्यस्तै उनले अहिले देशको राजनीतिमा उतारचढावहरु रहेको बताए । संविधानको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने कुरामा रिटर्नीको भुमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

उनले भने, ‘अहिले देशको राजनीतिमा उतारचढाव छ । संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, समानुपातिक प्रणालीसहितको संविधानमार्फत समाजवादउन्मुख मुलुकको परिकल्पना गरेका छौँ । यसका लागि तपाईहरुको भूमिका महत्वपूर्ण हुनेछ ।’
उनले आफू नेतृत्वको सरकार भएको बेलामा नीति तथा कार्यक्रम र बजेटमा रिटर्नी सेन्टरलाई विशेष महत्त्व दिएको भन्दै सरकार ढलेपछि अहिलेको सरकारले रिटर्नीहरूका लागि छुट्टाएको बजेट पनि अन्यत्र लगिएको सुन्नमा आएको बताए ।








