किसान संघ धनुषामा विमलेन्द्र भर्सेज महेन्द्र



जनकपुरधाम, जेठ २७ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान संघमा समानान्तर कमिटी गठन गरिएको छ । किसान संघ धनुषाका अध्यक्षमा श्यामकिशोर यादव छदाँछदैँ आज जुगलकुमार महतोको अध्यक्षतामा कोषाध्यक्ष खाली राखेर १२ सदस्यीय धनुषा जिल्ला कमिटी गठन गरिएको छ ।

नेपाली कांग्रेसका सह–महामन्त्री(मधेशी कोटा) महेन्द्र यादवको विशेष अगुवाईमा आज एक समारोह वीच महतोको अध्यक्षतामा नयाँ कमिटी गठन भएको घोषणा गरिएको छ । यस भन्दा पहिला केन्द्रले श्यामकिशोर यादवलाई अध्यक्ष तोकेर पठाएको थियो । तर किसान संघमा दुईवटा श्यामकिशोर यादव रहेका कारण विवाद उत्पन्न भएको थियो ।

एउटा श्यामकिशोर यादव लक्ष्मीनियाका र एउटा श्यामकिशोर यादव तारापट्टि सिरसियाका रहेका छन् । दुवै वीच आफ्नो दावीको विवाद बढेपछि नेपाली कांग्रेसका पूर्व उप–सभापति विमलेन्द्र निधिले तारापट्टि सिरसियाका श्यामकिशोर यादवको अध्यक्षतामा प्रमुख आतिथ्य ग्रहण गरेपछि सह–महामन्त्री(मधेशी कोटा) महेन्द्र यादवले आज महतोको अध्यक्षतामा कार्यसमिति गठन गराएका छन् ।

नेपाली कांग्रेस धनुषामा विमलेन्द्र निधि विरुद्ध कुनै समय डा. रामवरण यादव थिए तर, उनी राष्ट्रपति भएपछि यादव गुट कमजोर भएपछि उनकै निकट मानिने महेन्द्र यादव अहिले निधि विरुद्धको गुट सञ्चालन गर्दै आएका छन् । पूर्व राष्ट्रपति पुत्र चन्द्र मोहन यादवले गुट सञ्चालन गर्न नसकेपछि महेन्द्र यादवले नै निधि विरुद्ध निधिकै नजिकका व्यक्तिहरु सम्मिलित गुट सञ्चालन गर्दै आएको नेपाली कांग्रेसकै नेताहरुको भनाई छ ।

नेपाली कांग्रेसमा गृह नगर जनकपुरधाममै कमजोर देखिएका नेता निधि विरुद्ध उनकै निकटतम नेता कार्यकर्ताहरु सक्रिय भएर लागेपछि नेता निधिलाई समस्या खेप्नु परेको छ । नेपाली कांग्रेसका एक नेताले भने–‘अहिले किसान संघ मै समानान्तर कमिटी गठन गरिएको छ, पार्टीको महाधिवेशन आउँदा आउँदा धेरै भातृसंगठनहरुमा समानान्तर कमिटी गठन भईसक्नेछ ।’

नेता निधिलाई कमजोर बनाउन र आफ्नो गुट बलियो बनाउने दाउमा रहेका सह–महामन्त्री(मधेशी कोटा) यादवले नेता निधि नजिक रहेका संगठनहरुमा सामानान्तर कमिटी बनाउने योजना बनाइ सकेको कांग्रेसकै नेताहरुको भनाई छ ।

सह–महामन्त्री(मधेशी कोटा) यादवले आज गठन गराएका किसान संघको उपाध्यक्षमा नथुनी यादव सचिवमा प्रदिप कुमार साह, सह–सचिवमा राजन कार्कीलाई चयन गरेका छन् । कोषाध्यक्ष पद भने खाली राखेका छन् । त्यस्तै सदस्यहरुमा रामलखन यादव, शशी यादव, लक्ष्मण यादव, पल्टन यादव, सुर्यनाथ यादव, ललिता महरा, सन्तोष यादव र मनमोहन साहलाई चयन गरिएको छ ।

किसान संघ धनुषाका अध्यक्ष श्यामकिशोर यादव (लक्ष्मीनिया)को अध्यक्षतामा भएको चौथो जिल्ला अधिवेशनवाट उनीहरुलाई चयन गरिएको दावी गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सदस्य आनन्द ढुङ्गानाको प्रमुख आतिथ्यमा भएको सो अधिवेशनमा सह–महामन्त्री (मधेशी कोटा) यादव सहित मधेश प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सांसद राम सरोज यादव, मधेश प्रेदेशका संसद नेपाली काँग्रेसका प्रमुख सचेतक एवम् धनुषा क्षेत्र नं. ४ का क्षेत्रिय सभापति कुमरकान्त झा, मैथिली विकास कोषका अध्यक्ष एवम नेपाली कांग्रेस मधेश प्रदेशका सदस्य जिवनाथ चौधरी लगायत विभिन्न पालिका प्रमुख, महाधिवेशन प्रतिनिधि, विभिन्न तह तपकाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ २७, मंगलवार १८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको