काठमाडौं , जेठ २७ । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयक छिटो पारित गर्नुपर्ने बताएका छन् ।
मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ ।
छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयक के विषयलाई समेट्न खोजेको हो ? त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताए ।
तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर बढी जोड दिनुपर्ने उनको भनाइ थियो ।
‘यो ऐनबाट सरकारले जे कुरा एड्रेस गर्न ल्याएको हो, त्यसरी नै टुंग्याइदिउँ । ऐन बनाउँदै जाँदा, काम गर्दै जाँदा ऐनले तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर हामीले जोड दिन जरुरी छ,’ उनले भने, ‘त्यो भएन भने भावना हामी राख्दै गर्ने, तत्काल निर्णय गर्नसक्ने कुराहरु पनि ल्याएर जोडेर एकै चोटी सबै गर्छौं भन्दा केही पनि नहुने हुन्छ । हामी उदार पनि बनौँ, संवेदनशीलतालाई असर पर्नेगरी पनि नजाऔँ । संवेदनशीलताको नाममा सदैव जटिलतामा हामी घुमिरहने, नागरिकले सधैँ दुःख पाइरहने काम गर्नु हुँदैन । कहीँ न कहीँ ब्रेक थ्रु गर्नुपर्छ ।’






