जनकपुरधाम, असार १ । मधेश प्रदेश सरकार आगामी आर्थिक बर्षकोलागि करिव ४६ अर्वको बजेट ल्याउँदै छ । आज ४ बजे बस्ने प्रदेश सभाको बैठक आगामी आर्थिक बर्षको करिव ४६ अर्वको बजेट सार्वजनिक हुँदैछ ।
प्रदेश सरकारले यस बर्ष पनि भौतिक पूर्वाधारमा सवै भन्दा बढी बजेट ल्याउँदै छ । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य भन्दा बढी बजेट भौतिक पूर्वाधारमा राखेको छ । भौतिक पूर्वाधारमा करिव १३ अर्व रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
प्रदेश सभा सदस्यहरुलाई खुशी पार्नकालागि प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यलाई ५ करोड र समानुपातिकलाई ३ करोड रुपैयाँको दरले योजना स्वीकृत गरिएको छ ।
प्रदेश सभा सदस्यहरुले मात्रै भौतिक पूर्वाधारको योजना राखेका कारण भौतिक पूर्वाधारमा बजेट बढी भएको मधेश प्रदेश सरकार स्रोतको दावी छ ।
चालु आर्थिक वर्षमा पनि मधेश सरकारले अघोषित रुपमा प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई ५ करोडसम्मको बजेट दिएको थियो । सर्वोच्च अदालतले संसदीय विकास कोषको नाममा त्यसरी बाँड्ने बजेटमा रोक लगाएपछि सरकारले चोरबाटोबाट सांसदलाई बजेट बाँड्ने गरेको छ ।
सांसदहरू योजनाको रुपमा उक्त बजेट पाएका छन् । त्यसरी पाएको योजनाको चिठी संसदहरुले कमिसनमा विक्री वितरण गर्ने गरेको सदनमै आवाज उठिसकेको छ । यसरी उपभोक्ता समितिको नाममा योजनाको चिठी बेचेको र कमिसन लिएको आरोपमा गत जेठ २९ गते मात्र जसपा नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहालाई अख्तियारले पक्राउ गरेको थियो ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा तीन जना प्रदेश सभा सदस्य अभिराम शर्मा, दीपेन्द्र ठाकुर र सरोज सिंह कुशवाहा निलम्वनमा परेपछि अहिले प्रदेश सभामा १०४ प्रदेश सभा सदस्य छन् । तीनै प्रदेश सभा सदस्य प्रत्यक्ष निर्वाचित थिए । हुनत उनीहरुको योजना पनि पाँच करोडमा समेटिएको छ तर, सञ्चालन कस्ले गर्ने भने बारे अन्योलता देखिएको छ । चालु आर्थिक बर्षमा दिपेन्द्र ठाकुर र सरोज सिंह योजना बितरण गरि सकेका छन् भने अभिरामको योजना शिक्षा मन्त्री रानी शर्मा तिवारीले चलाएको स्रोतको दावी छ ।
शिक्षा, स्वास्थ्य, खेलकुद तथा आम जनतालाई पायक पर्नु भन्दा बढी विकास निर्माणमा बजेट विनियोजन गर्न लागेपछि प्रदेश सरकार कमिसन तन्त्रमा लिप्त भएको आरोप मधेशका जनताहरुले लगाउँन थालेका छन् । मधेश प्रदेश सरकारले आज ल्याउने बजेटमा शिक्षा, स्वास्थ्य र खेलकुदमा बढी बजेट आउने अपेक्षा आम मधेशी जनताले गरेका थिए ।
कुन मन्त्रालय लाई कति बजेट
मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्षकोलागि आज बजेट ल्याउँदै छ । मधेश प्रदेश सरकारले यस बर्ष सवै भन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई बजेट बिनियोजन गरेको छ ।
प्रदेश सरकारले गरेको बजेट बाँडफाँट अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १३ अर्व ११ करोड ५२ लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले भौतिक पूर्वाधार पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्व २१ करोड ६५ लाख ६ हजारको बजेट बिनियोजन गरेको छ ।
त्यस्तै भूमि व्यवस्था कृषि मन्त्रालयलाई २ अर्व ७९ करोड १९ लाख, वन तथा वातावरण मन्त्रालयलाई २ अर्व ४२ करोड ४० लाख २५ हजार, श्रम तथा यातायात मन्त्रालयलाई ९९ करोड ९७ लाख ४८ हजार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयलाई २ अर्व ९८ करोड ५८ लाख २२ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
शिक्षा तथा संस्कृति मन्त्रालयलाई २ अर्व ९० करोड ५१ लख ७६ हजार, गृह सञ्चार तथा कानुन मन्त्रालयलाई ७७ करोड ५७ लाख ४ हजार, खेलकुद तथा समाज कल्याण मन्त्रालयलाई १ अर्व ९५ करोड ८३ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गरेको स्रोतको दावी छ ।






