ओम प्रकाश यादव
रौतहट , असार ५ । रौतहटको गरुडा नगरपालिकाले कृषि बिजुली महसुल तिरिदिएको छ। गरुडा नगरपालिका –९, रघुनाथपुर क्षेत्रका कृषकहरूको बाँकी रहेको कृषि बिजुली महसुल नगरपालिकाले नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रलाई भुक्तानी गरिदिएको छ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले आज विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवलाई चेक हस्तान्तरण गरेका हुन् ।
किसानले कृषि कार्यका लागि प्रयोग गर्ने बिजुलीको बिल पालिकाले तिरेर सहयोग गर्ने निर्णय भए अनुसारको किसानको सहजताका लागि सो विद्युत बिल तिरिदिएको गरुडा नगर प्रमुख जयसवालले बताए ।
चालु आवको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले किसानको कृषि कार्यका लागि सिँचाइ विद्युत् महसुल प्राधिकरणलाई चेक मार्फत भुक्तानी गरेको उनले बताए।
कृषकलाई सिँचाइमा सहुलियत दिने हाम्रो प्रतिबद्धता अब व्यवहारमा परिणत भएको उनले बताए।
गरुडा नगरपालिकाको कृषि केन्द्रित नीतिहरूले अब विकासको जग बलियो बनाउँदै लग्ने उनले विश्वास व्यक्त गरे
गरुडा नगरपालिका वडा नं। १ देखि ८ सम्मका कृषकहरुका लागि जडान गरिएका कृषि सिँचाइ विद्युत मिटरहरूको बिल रकम यसअघि नै गरुडा नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रलाई बुझाइसकिएको छ ।




