ईभी सवारी साधनहरु लक्षित अटो पालर्स शोरुमको उद्घाटन



काठमाडौं, असार ७ । अटो पालर्स प्रालिले ईभी सवारी साधनहरुको लागि नयाँ अटो पालर्स शोरुमको उद्घाटन गरेको छ । शनिबार काठमाडौंमा ईभी गाडीहरुको प्रिमियम सामानहरु भएको अटो पालर्स शोरुमको उद्घाटन भएको हो ।

शोरुम उद्घाटन कार्यक्रममा अटो पालर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपेन्द्रराज पाण्डेले विद्युतीय गाडीहरुको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहे पनि नेपालमा खासगरी ईभी गाडीको लागि मात्र लक्षित शोरुमहरुको अभाव रहेको बताए। उनले भने, “हामीले विद्युतीय सवारी साधनको सम्भावनालाई ध्यानमा राख्दै, विशुद्धरूपमा ईभी गाडीका प्रिमियम पार्टस र एसेसोरीज मात्र उपलब्ध गराउने उद्देश्यले यो शोरुम संचालनमा ल्याएका हौं।”

उक्त शोरुममा विद्युतीय सवारीसाधनका लागि चाहिने गुणस्तरीय र ब्राण्डेड सामानहरु सजिलै उपलब्ध हुने जानकारी दिँदै, कम्पनीका निर्देशक सौरभराज पाण्डेले अटो पालर्स शोरुम आधुनिकता र व्यवस्थापनमा केन्द्रित रहेको बताए। उनले थपे, “अहिलेको समयमा ईभीको बजार तीव्र गतिमा वृद्धि भइरहेको छ। त्यसैले हामीले ‘अटो प्रो’ ब्रान्ड अन्तर्गत विशेषगरी ईभी गाडीलाई लक्षित गरेर यो शोरुम सुरु गरेका हौं, जसले बजारमा ईभी सवारीसाधन प्रयोगकर्तालाई सेवा प्रदान गर्न ठूलो टेवा पुर्‍याउनेछ।”

सौरभराजका अनुसार, बजारमा हाल विभिन्न ब्राण्डका नयाँ ईभी गाडीहरु आइरहेका छन् र ती गाडीहरुको लागि आवश्यक पर्ने उच्च गुणस्तरका पार्टस तथा एसेसोरीज अब नेपालमै सहज रूपमा उपलब्ध हुनेछन्। अटो पालर्सले ग्राहकको सन्तुष्टि, टिकाउ उत्पाद, र प्रतिस्पर्धात्मक मूल्यलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ।

नेपालमा विद्युतीय सवारीसाधन प्रयोगलाई प्रवर्द्धन गर्ने सरकारी नीति र बढ्दो वातावरणीय सचेतनाको पृष्ठभूमिमा यस्तो शोरुमको स्थापना रणनीतिक रुपमा महत्वपूर्ण मानिएको छ। अटो पालर्सले निकट भविष्यमा अन्य स्थानहरूमा पनि यस्ता शोरुम विस्तार गर्ने योजना बनाएको जानकारी पनि दिइएको छ।

ईभी प्रविधिमा बढ्दो लगानी र रुचिको यो समयमा, अटो पालर्स जस्ता निजी क्षेत्रका प्रयासहरूले विद्युतीय सवारीसाधनको दिगो विकास र प्रयोगलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ असार ७, शनिवार १३:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको