श्याम कुमार ठाकुर
सिरहा, असार ७ । सिरहा जिल्लाको मिर्चौया नगरपालिकाको १५औं नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख श्रवण कुमार यादवको अध्यक्षतामा भएको सो सभावाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु। ७० करोड ११ लाख ७१ हजार ८२३ को बजेट पारित गरेको छ।
कार्यक्रममा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय श्री संजय कुमार यादव प्रमुख अतिथिको रूपमा सहभागी हुनुभयो। मन्त्री यादवले आफ्नो सम्बोधनमा स्थानीय तहद्वारा सञ्चालित दिगो विकास तथा वातावरणमैत्री पहलहरूको सराहना गर्नुभयो। उहाँले योजनाहरू समावेशी र स्थानीय आवश्यकता अनुरूप बनाउन जोड दिनुभयो।
नगर प्रमुख श्री यादवले विगत वर्षका प्रमुख उपलब्धिहरू प्रस्तुत गर्दै आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो। उहाँले भने, ूनगरवासीहरूको विश्वास र सहभागिताले नै मिर्चैया नगरपालिका दिगो विकासतर्फ अघि बढिरहेको छ।ू
शिक्षा क्षेत्रमा विशेष प्राथमिकता
यस वर्षको बजेटमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ। नगरपालिकाका सबै वडाका सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने योजना प्रस्तुत गरिएको छ। ५० लाख रुपैयाँ स्वयंसेवक शिक्षक व्यवस्थापनका लागि विनियोजन गरिएको छ।
साइन्स विषय अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई रु। १०,००० प्रोत्साहन स्वरूप अनुदान दिइने छ। साथै, शिक्षकहरूको दक्षता अभिवृद्धि तालिम कार्यक्रमका लागि १० लाख रुपैयाँ छुट्याइएको छ।
स्वास्थ्य क्षेत्रमा सुधार र सेवा विस्तार
नगर प्रमुख यादवले सर्पदंशबाट हुने मृत्यु न्यूनीकरण गर्न मिर्चैया अस्पतालमा विशेष उपचार सेवा उपलब्ध गराउने योजना रहेको बताए। यसका लागि प्रदेश सरकारसँग सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बीमा तथा जोखिमयुक्त रोगहरूको निःशुल्क उपचार व्यवस्था गरिने घोषणा पनि सभामा गरियो।
कृषि र पूर्वाधारमा ठूला लगानी
कृषकलाई सशक्त बनाउन हालसम्म ४० वटा बोरिङ्गको स्थापना भइसकेको र थप कार्य प्रक्रियामा रहेको जनाइएको छ। सिंचाइका लागि प्रयोग हुने पानीको सम्पूर्ण बिल मिर्चैया नगरपालिकाले तिर्ने निर्णय गरिएको छ।
साथै, नगरको मुख्य बजार व्यवस्थापनको लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। ग्रामीण सडक, ढल, खानेपानी लगायत पूर्वाधार निर्माणमा पनि बजेट छुट्याइएको छ।
समावेशी विकास र सामाजिक न्यायमा प्रतिबद्धता
नगर प्रमुख यादवले सबै वडामा समावेशी योजना, रोजगारी सृजन, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिहरू, तथा पिछडिएको समुदाय लक्षित कार्यक्रमहरूलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरसभामा विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




