काठमाडौँ, असार ८ । सङ्घीय संसद्को प्रतिनिधिसभा आज बिहान ११ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेट शीर्षकमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सहरी विकास, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय तथा उपराष्ट्रपति कार्यालयको विनियोजनमाथि छलफल हुने छ। यस्तै, खर्च कटौतीका प्रस्तावहरू पनि सांसदहरूले सदनमा पेस गर्ने कार्यक्रम रहेको छ।
तर, पछिल्ला केही दिनदेखि भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध हुँदै आएको सन्दर्भमा आजको बैठकमा पनि अवरोधको सम्भावना देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसाको नाममा भइरहेको अनियमितता, बिचौलियाको संलग्नता र सरकारी निकायको लापरवाहीप्रति गम्भीर आपत्ति जनाउँदै संसद् अवरुद्ध गर्दै आएका छन्।
यी दलहरूले सो प्रकरणमा गहिरो छानबिनको माग गर्दै आएका छन् भने सम्बन्धित मन्त्रीको राजीनामा माग गर्दै आएका छन्। उनीहरूको दाबी अनुसार भिजिट भिसाको नाममा हजारौं नेपाली नागरिक ठगिएका छन् र यसमा ठूला राजनीतिक हस्तीको समेत संलग्नता हुन सक्ने शंका गरिएको छ।
यसैबीच, सभामुख देवराज घिमिरेले आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गत विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यक्रम तय भएको छ। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पनि सभामुखले पढेर सुनाउने कार्यसूचीमा समावेश गरिएको छ।
सत्तापक्ष र विपक्षी दलबीचको यो तनावपूर्ण परिस्थितिमा संसद्को कार्यसूची अघि बढ्ने कि पुनः अवरोधमा पर्ने भन्ने विषयमा अन्योल कायम रहेको छ। सरकार पक्षले भने संसद् कार्यसूची नियमितरूपमा अघि बढाउन आग्रह गरिरहेको छ।
भिजिट भिसा प्रकरणले संसद् कार्यसूची मात्र होइन, बजेट छलफल र स्वीकृति प्रक्रियामा पनि असर पुर्याइरहेको भन्दै आम जनस्तरमा चिन्ता बढ्दै गएको छ। संसद्ले यस विषयमा सहमति र समाधानको बाटो खोज्न नसके संविधानतः तोकिएको बजेट पास प्रक्रिया समेत प्रभावित हुन सक्ने सम्भावना देखिएको छ।




