वाशिंगटन, असार ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक केन्द्रमा हवाई आक्रमण गरिएको पुष्टि गरेका छन्। इजरायल र अमेरिकाको संयुक्त सैन्य कारबाही अन्तर्गत फोर्डो, नातान्ज र इस्फहानस्थित आणविक केन्द्रहरूलाई लक्षित गर्दै आक्रमण गरिएको हो। ट्रम्पको भनाइअनुसार यस आक्रमणले इरानको आणविक कार्यक्रमलाई गम्भीर धक्का पुर्याएको छ।
राष्ट्रपति ट्रम्पले आफ्ना सामाजिक सञ्जालमार्फत भनेका छन्, ूसबै अमेरिकी विमानहरू हाल इरानको आकाशबाट बाहिर छन्। फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो। सामान्यरूपमा बमबारी गरियो र मुख्य स्थल फोर्डोलाई लक्षित गरियो।ू उनको यस अभिव्यक्तिले अमेरिका–इरान सम्बन्धमा पुनः तनावको नयाँ चरण आरम्भ भएको स्पष्ट संकेत दिएको छ।
अमेरिकाले गरेको यस कारबाहीलाई विश्वका विभिन्न सुरक्षा विश्लेषकहरूले गम्भीर मानिरहेका छन्। उनीहरूको भनाइमा, यो आक्रमण केवल इरानको आणविक कार्यक्रममा मात्र धक्का नभई सम्पूर्ण मध्यपूर्वमा अस्थिरता बढाउने कारक बन्न सक्नेछ। साथै, यस घटनाले तेल बजार र विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी पनि दिइएको छ।
इरानले यस कारबाहीप्रति तत्काल औपचारिक प्रतिक्रिया नदिए पनि सैन्य तथा कूटनीतिक तयारीमा लागेको बताइएको छ। इरानको सर्वोच्च नेतृत्वले राष्ट्रको सार्वभौमिकतामाथि गरिएको हमलाको जवाफ अवश्य दिने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानी सैन्य स्रोतहरूका अनुसार, आक्रमणपछि आणविक स्थलगत सुरक्षा सतर्कता बढाइएको छ।
यस आक्रमणलाई लिएर चीन, रुस लगायतका ठूला शक्तिहरूले समेत गहिरो चासो देखाएका छन्। राष्ट्रसंघको महासचिवले दुबै पक्षलाई संयम अपनाउन र वार्ताको बाटो रोज्न आग्रह गरेका छन्। अर्कोतर्फ, इजरायलले भने इरानको आणविक हतियार विकास गर्ने योजनालाई रोक्न यो कदम आवश्यक भएको दाबी गरेको छ।
इरानले विगत केही वर्षयता आणविक प्रविधिमा तीव्र प्रगति गरेको र त्यसको उपयोग सम्भावित हतियार निर्माणमा गरिन सक्ने पश्चिमी राष्ट्रहरूको चिन्ता रहँदै आएको थियो। अमेरिकाले सन् २०१८ मा आणविक सम्झौताबाट एकपक्षीय रूपमा बाहिरिएपछि दुबै देशबीचको सम्बन्ध झनै बिग्रिएको हो।
यसैबीच, तेलको अन्तर्राष्ट्रिय मूल्यमा अचानक वृद्धि देखिन थालेको छ, जुन सम्भवतस् आक्रमणको असर हुन सक्ने अनुमान लगाइएको छ। तेल आपूर्तिमा इरानको भूमिकालाई ध्यानमा राख्दा यो संकट अझ जटिल बन्न सक्ने विश्लेषकहरूको भनाइ छ।
यो घटनाक्रमले आगामी दिनमा मध्यपूर्वमा ठूला सैन्य द्वन्द्वको जोखिम ल्याउने मात्र नभई अन्तर्राष्ट्रिय कूटनीति र आर्थिक स्थायित्वमा पनि चुनौती खडा गर्ने सम्भावना प्रबल देखिएको छ। अबको विश्व नजर अमेरिका, इरान र अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिक्रियामा केन्द्रित हुनेछ।




