कतार स्थित अमेरिकी हवाई अड्डामा इरानद्वारा आक्रमण

मध्यपूर्वको अवस्था तनावग्रस्त


एजेन्सी, असार १० । कतार स्थित अमेरिकी हवाई अड्डामा इरानले आक्रमण गरेको छ । इरानको तीन आणविक अड्डाहरूमा अमेरिकी आक्रमणको प्रतिरोधमा इरानले कतार स्थित अमेरिकी हवाई अड्डा अल–उदेइदमा ६ वटा क्षेप्यास्त्र प्रहार गरेको हो ।

इरानी आक्रमण पछि दोहामा धेरै ठूला विस्फोटहरू सुनिएको स्थानीय संचारमाध्यमहरुले जनाएको छ ।
इरानी आक्रमणको कारण सो क्षेत्रमा त्रास फैलिएको छ । इरान अमेरिका द्वन्द्वका कारण मध्य पूर्वको अवस्था झन् तनावपूर्ण बन्दै गइरहेको छ ।

यद्यपि, कतारको रक्षा मन्त्रालयले हवाई रक्षा प्रणालीले सबै इरानी क्षेप्यास्त्रहरू हावामै नष्ट गरेको र आक्रमणमा कुनै हताहत नभएको दावी रहेको छ । कतारले पनि इरानलाई बदलाको चेतावनी दिएको छ । आक्रमण हुनुभन्दा केही समय अघि, कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको थियो । कतारको अल–उदेइद एयरबेस मध्य पूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो, जहाँ ८,००० देखि १०,००० अमेरिकी सेना तैनाथ छन् ।

यसैबीच कतारले जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग खुला गरेको छ ।

इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी रुपमा बन्द गरेको थियो । त्यसबाट कतार र कतारको दोहा हुँदै अन्य देश जाने यात्रुहरु अलपत्र परेका थिए ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रुहरु त्यहीँ सुतेका थिए । कतिपय जहाजलाई डाइभर्ट गरिएको थियो ।

तर अहिले कतारको अवस्था सामान्य बन्दै गएको र आकाश मार्ग मंगलबार मध्यरातबाट पुनः खोलिएको कतार सरकारका अधिकारीहरुलाई उद्धृत गर्दै दोहा टाइम्स अनलाइनले जनाएको छ । तीमध्ये एउटा सैन्य अड्डाभित्रै खसेको र अरु सबैलाई निस्तेज पारिएको कतारको रक्षा मन्त्रालयअन्तर्गत संयुक्त कार्य सञ्चालन विभागका उपप्रमुख शायेक अल–हजरीले बताएका छन् ।

‘कतारमा शान्ति र स्थायित्व हाम्रो प्राथमिकता हो । बाह्य कारणले हाम्रो सुरक्षामा असर पार्न दिइने छैन,’ उनले दोहा टाइम्स अनलाइनसँग भनेका छन् ।

जनजीवन सामान्य

यसैबीच कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले कतारको जनजीवन पुनः सामान्य अवस्थामा फर्किंदै गएको बताएका छन् ।

‘हामी नागरिक र यहाँ बसोबास गर्ने सबैलाई विश्वस्त पार्न चाहन्छौं कि कतारमा स्थिति पूर्णरूपमा नियन्त्रणमा छ र मिसाइल आक्रमणपछिको अवस्था सामान्य फर्किंदैछ’ उनले कतार टेलिभिजनमार्फत भने ।
इरानी आक्रमणमाथि विश्वभरबाट निन्दा भइरहेको बेला कतारले पनि कडा आपत्ति जनाएको छ । कतारले उक्त आक्रमणलाई ‘सार्वभौमिकताको खुला उल्लंघन’ भनेको छ ।

कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता अल–अन्सारीले ‘कतारले अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफ दिने अधिकार सुरक्षित राख्दछ’ भन्दै चेतावनी पनि दएका छन् । कतारले हाल गाजाको युद्ध सुरु भएयता हमास र इजरायलबीच युद्धविराम र बन्दी आदानप्रदानका लागि मध्यस्थता गरिरहेको छ । यहीबेला कतारमाथि आक्रमण हुनुलाई आश्चर्य लागेको अल–अन्सारीले बताएका छन् । ‘यो आक्रमण हामीलाई आश्चर्यचकित बनाउने खालको थियो, विशेष गरी कतारको सधैंको छिमेकी मित्रता र मध्यस्थता प्रयासलाई ध्यानमा राख्दा,’ उनले भने ।

इजरायलले जुन १३ मा इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । यही बेला अमेरिकाले समेत इरानका तीन प्रमुख परमाणु केन्द्रमा आक्रमण गरेपछि तनाव चर्किएको हो ।

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार ०७:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको