काठमाडौं, असार ११ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार पाँच सयले घटेको हो। मंगलबार तोलाको १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक हजार पाँच सयले घटेर १ लाख ९२ हजार रुपैयाँमा झरेको छ। यस गिरावटसँगै पछिल्ला केही दिनयता स्थिर जस्तो देखिएको सुनको मूल्य फेरि घट्ने संकेत देखिएको छ।
महासंघले दिएको जानकारी अनुसार तेजाबी सुनको मूल्य पनि आज घटेको छ। तेजाबी सुन आज तोलाको १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यता चाँदीको मूल्यमा समेत गिरावट आएको छ। मंगलबार तोलाको २,१६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर २,१४० रुपैयाँमा झरेको हो।
सुनचाँदी व्यवसायीहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको असर नेपाली बजारमा पनि परेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ, तेलको मूल्य र ब्याजदर लगायतका कारणले सुनचाँदीको मागमा कमी आएको बताइएको छ। त्यसैका कारण मूल्य घटेको व्यवसायीहरुको भनाइ छ।
नेपालमा सुनचाँदीको मूल्य प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनमा भर पर्छ। अहिले विवाह–व्रतबन्ध लगायतका सिजन नहुँदा मागमा पनि कमी आएको व्यवसायीहरू बताउँछन्। मूल्य घटेसँगै उपभोक्ताहरुले सुनचाँदी खरिदमा केही सहजता पाउने अपेक्षा गरिएको छ।




