मधेश प्रदेशसभाको बैठक आज बस्दै



जनकपुरधाम, असार ११ । मधेश प्रदेशसभाको बैठक आज (बुधबार) बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटसम्बन्धी आर्थिक कार्यदिशाबारे छलफल हुने बताइएको छ । तर प्रतिपक्षी दलहरुले रेडबुक (बजेट विवरण पुस्तक) उपलब्ध नगराइएसम्म बजेटबारे कुनै छलफलमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

उनीहरुका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबिना बजेटमाथि प्रत्यक्ष छलफलमा जानु उपयुक्त नहुने उनीहरूको धारणा रहेको छ । उनीहरुले भनेकाछन्, “हामीले रेडबुक प्राप्त गर्न सकेका छैनौँ, त्यस्तो अवस्थामा बजेटको गहिरो अध्ययन र विश्लेषण सम्भव हुँदैन । त्यसैले हामी छलफलमा सहभागी हुने अवस्था छैन ।”

उनका अनुसार प्रदेशसभामा बजेट प्रस्तुतिपछि हुने छलफलको प्रक्रियालाई औपचारिक र प्रभावकारी बनाउन कार्य व्यवस्था परामर्श समितिबाट सहमति जुटाएर मात्र छलफल अगाडि बढाउनु पर्नेछ । उनले सरकारलाई रेडबुक छिटो उपलब्ध गराउन आग्रह पनि गरे ।

यसैबीच, प्रदेशसभा सचिवालयले भने बैठक पूर्व निर्धारित कार्यसूचीअनुसार अघि बढाइने जनाएको छ । सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ र आर्थिक कार्यदिशाको प्रारम्भिक प्रस्तुति गरिनेछ ।

प्रतिपक्षी दलहरूको असहमति र रेडबुक अभावका कारण आजको बैठकमा बजेटसम्बन्धी छलफल निष्क्रिय हुने संकेत देखिएको छ । प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टीसँगै अन्य विपक्षी दलहरू पनि एकजुट भएर सदनमा सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रदेश सरकारले असार ९ गते बजेट प्रस्तुत गरेको थियो । तर त्यो बजेटमाथि दलहरूको विस्तृत टिप्पणी आउनु अगावै रेडबुक जस्तो महत्वपूर्ण दस्तावेज प्रदान नगरिनुले कार्यव्यवस्था तथा प्रक्रियामाथि नै प्रश्न उठाएको छ । यस्तो अवस्थामा आजको बैठकले बजेट छलफलका सन्दर्भमा अन्योलता थप बढाउने देखिएको छ ।

प्रकाशित मिति: २०८२ असार ११, बुधवार ०९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको