जनकपुर-ढल्केवर सडक खण्डमा वृक्षारोपण



जनकपुरधाम, असार १४ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा जनकपुर-ढल्केवर सडक खण्डमा वृक्षारोपणको शुभारम्भ गरिएको छ ।

वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा जनकपुर–ढल्केवर सडक खण्डमा वृक्षारोपणको शुभारम्भ गरिएको छ ।



जनकपुरधामको पीडारी चोकमा आयोजित शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री सतिश कुमार सिंहले वृक्षारोपण गर्दै शुभारम्भ गरेका हुन । उनले मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रवेशमार्ग जनकपुर–ढल्केवर सडक खण्डमा वृक्षारोपणले जनकपुरको सौन्दर्यीकरण एवं वातावरणीय प्रभावमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि बन तथा वातावरण मन्त्री संजय कुमार यादव, अर्थमन्त्री सुनिल यादव, वनमन्त्रालयका सचिव, जनकपुरधाम उपमहानगरका प्रमुख मनोज कुमार साह सहितको उपस्थिति रहेको थियो ।

वृक्षारोपण कार्यक्रम मार्फत जनकपुर–ढल्केवर सडकखण्डमा असार मसान्त भित्र ४४ सय रुख रोप्ने कार्यक्रम रहेको जनाइएको छ। सडकको डिभाइडरमा गरिने वृक्षारोपणले सडकको सौन्दर्यीकरणमा विशेष योगदान दिने विश्वास आयोजकले गरेको छ ।

यसै बीच वृक्षारोपण दिवसको अवसरमा धनुषा वनडिभिजन कार्यालयको आयोजनामा उक्त क्षेत्रमा १० हेक्टर खाली जग्गामा वृक्षारोपण शुरु गरेका छन । वनउपभोक्ता समूह मार्फत उक्त वृक्षारोपणको शुरुवात गरिएको जनाइएको छ ।

वृक्षारोपण दिवसकै अवसर पारेर धनुषाधाम जंगलमा रहेको विशाल सखुवाको रुखलाई ‘धनुष सखुवा’ नामाकरण गरिएको वनडिभिजन कार्यालय धनुषाका वन अधिकृत अनिल साहले जनाएको छ। मुख्यमन्त्री सिंहले सो रुखको नामाकरण गरेका हुन ।

प्रकाशित मिति: २०८२ असार १४, शनिबार १७:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको