कतार, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम. पाङ्गोबीच आज कतारको दोहामा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’ (Financing for Development) शीर्षकमा आयोजित चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जाने क्रममा दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति पाङ्गोसँग भेट हुन पुगेका हुन्।
दुवै नेताबीचको भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई सुदृढ गर्ने विविध आयामबारे विचारविमर्श भएको थियो। आपसी सहकार्य, द्विपक्षीय व्यापार विस्तार, ऊर्जा, शिक्षा, कृषि, पूर्वाधार विकास, स्वास्थ्य र जलवायु परिवर्तनजस्ता क्षेत्रहरूमा सहकार्यका सम्भावनाहरूबारे समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले नेपाल सरकार विकास र लगानीको अवसर खोजिरहेको बताउँदै अफ्रिकी राष्ट्रहरूसँगको सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। उहाँले तान्जानियासँग ऐतिहासिकरूपमा मैत्रीपूर्ण सम्बन्ध रहेको र त्यसलाई अझ बलियो बनाउन उच्चस्तरीय आदान–प्रदान आवश्यक रहेको धारणा राख्नुभयो।

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति डा. पाङ्गो बीच भएको भेटबार्तामा पाङ्गोले पनि नेपालसँगको सम्बन्धलाई सुदृढ गर्न आफ्नो देश इच्छुक रहेको बताए। उहाँले तान्जानिया अफ्रिकाको उदाउँदो अर्थतन्त्र भएको र लगानी तथा व्यापारका लागि खुला नीति अपनाएको जानकारी दिनुभयो। तान्जानियाले नेपालको पर्यटन, जडिबुटी तथा हस्तकला सामग्रीमा चासो रहेको र यी क्षेत्रहरूमा साझेदारीको सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरू पनि सहभागी थिए।
यस भेटवार्ताले नेपाल–तान्जानिया सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। संयुक्त राष्ट्रसङ्घको सम्मेलनमार्फत विकासोन्मुख राष्ट्रहरूबीच सहकार्यको ढोका अझ फराकिलो हुने आशा गरिएको छ।







