उपाध्यक्ष मनोनयले जनमतमा फेरि चुलियो विवाद



जनकपुरधाम, असार १९ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो दाजुलाई पार्टीका उपाध्यक्षमा मनोनयन गरेपछि पार्टी भित्र फेरि विवाद चुलिएको छ । पार्टी अध्यक्ष राउत आफ्नै दाई जयकान्त राउतलाई पार्टीको उपाध्यक्षमा मनोनयन गरेपछि पार्टीका स्थायी समिति सदस्य इन्जिनियर दीपककुमार साहले आपत्ति जनाएका छन् ।

स्थायी समिति सदस्य ई. साहले आज एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्–‘हालै सार्वजनिक भएका समाचारहरू अनुसार, जनमत पार्टीले दुई जना व्यक्तिलाई राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत गरेको जानकारीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। विशेषतः पार्टी अध्यक्षज्यूद्वारा आफ्ना पारिवारिक सदस्यहरूलाई योजनाबद्धरूपमा नेतृत्वमा उकास्ने प्रवृत्तिले संस्थागत राजनीतिलाई गम्भीर रूपले क्षति पु–याएको देखिन्छ ।’

केही दिन पूर्व पार्टी अध्यक्ष डा. राउतले पार्टीका वरिष्ठ उपाध्यक्ष ई. साह, कोषाध्यक्ष ई. सुरेन्द्र यादव लगायतलाई कारवाही गरेका थिए । कोषाध्यक्ष यादव विरुद्ध प्रहरी सम्म पुगेका डा. राउतले उनलाई हिरासतमा राख्न सम्मको काम गरेका थिए । पार्टीको हितमा बोल्ने, लेख्नेलाई पार्टी अध्यक्षले कारवाहीको नाममा पार्टीवाट अल्गयाएर पार्टीलाई कामाई खाने भाडा बनाएको जनमत पार्टीका नेता कार्यकर्ताहरुको गुनासो छ ।

ई. साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘२०७७ सालमा श्रीमती बबिता कुमारी राउतलाई उपाध्यक्ष पदमा मनोनयन गरी प्रदेश सभाको उपसभामुख बनाउने निर्णयले सुरु भएको पारिवारिक प्राथमिकताको क्रम अहिले पुनः अध्यक्षज्यूका दाजु डा. जय कान्त राउतलाई राष्ट्रिय उपाध्यक्ष बनाइएसँगै झन प्रष्ट भएको छ । विगतमा उहाँलाई सांसदको उम्मेदवार, योजना आयोगको सदस्य, राष्ट्रिय परिषद्को अध्यक्ष, र संगठन विभागको प्रमुखजस्ता पदहरूमा क्रमशः जिम्मेवारी दिइएको थियो । यसले संगठनभित्र गहिरो असन्तुलन, पात्रको उपेक्षा र कार्यकर्ताको मनोबलमा गम्भीर असर पारिरहेको छ ।’

पार्टी भित्र संघर्ष गरेर आएका नेता कार्यकर्तालाई तह लगाउँदै अध्यक्ष डा. राउतले संघर्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने इ. कबिन्द्र यादव, इ. सुरेन्द्र नारायण यादवलगायतका समर्पित व्यक्तित्वहरूलाई उपेक्षा गर्दै पारिवारिक व्यक्तिहरूलाई निरन्तर नेतृत्वमा ल्याउने परिपाटीले “परिवारवाद“लाई संस्थागत बनाउने संकेत देखिएको छ, जुन प्रजातान्त्रिक मूल्यविपरीत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले स्थायी समिति सदस्य तथा उपाध्यक्ष नरेन्द्र चौधरीज्यूका दाजु दान बहादुर चौधरी, जो हालसम्म पार्टी विरोधी गतिविधिमा संलग्न रहँदै अन्य दलहरूसँग आबद्ध रहेका थिए उनलाई राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी दिइनु—पार्टीका आन्तरिक मूल्य, आदर्श माथिको गम्भीर प्रहार रहेको ठहर गरेका छन् ।

उनले भनेका छन्–‘मैले विगतमा पटकपटक अध्यक्षज्यू समक्ष संगठनभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र सामूहिक निर्णय प्रक्रियाको संरक्षण गर्न आग्रह गर्दै आएको छु। तर पछिल्ला घटनाक्रमहरूले पार्टीप्रति आमजनताको विश्वास डगमगाउने अवस्था सिर्जना गरेको छ ।’

उनले पार्टी अध्यक्ष डा. राउतलाई सुझाव सहितको विभिन्न पाँच बुँदे माग समेत अगाडि सारेका छन् । ई. साहले संघर्ष र समर्पणका आधारमा नेतृत्व विकासको सुनिश्चितता होस्, पारिवारिक सञ्जालका आधारमा पद बाँडफाँट बन्द गरिनुपर्ने, स्वकिय सचिवदेखि लिएर संगठनका अन्य प्रमुख जिम्मेवारीमा पनि योग्य र समर्पित कार्यकर्ताहरूको सहभागिता सुनिश्चित गरिनुपर्ने, पार्टीका सबै निर्णयहरू पारदर्शी, सहभागी र सहमतिमा आधारित हुनुपर्छ, गुटगत वा पारिवारिक पूर्वाग्रहले निर्देशित नहुनुपर्ने माग राखेका छन् ।

त्यस्तै संघर्षकालमा पार्टी निर्माणमा योगदान दिने नेताहरूप्रति सम्मानजनक व्यवहार होस्, र उनीहरूलाई निष्क्रिय बनाउने षड्यन्त्रहरूको तत्काल अन्त्य गरियोस्, १४ वर्ष लामो संघर्षपछि पनि कुनै गैरपारिवारिक पात्रले संगठन विभाग प्रमुखजस्तो महत्वपूर्ण जिम्मेवारी नपाउनु, र अध्यक्षका दाजुलाई एकसाथ तीन–तीन पदमा नियुक्त गर्नुले नेतृत्व शैलीमाथि गम्भीर समीक्षा आवश्यक बनाएको उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति: २०८२ असार १९, बिहिवार १५:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको