मलेसियालाई ९ विकेटले हराउदै नेपाल फाइनलमा



काठमाडौं, असार १९ । मलेसियालाई ९ विकेटले हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रन बनाउदै नटआउट रहे भने शिवांश बजगाइले अविजित २३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि ९० रनमा अलआउट भएको थियो । मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो ।

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले ११ विकेट लिए ।

नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति: २०८२ असार १९, बिहिवार १२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको