एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ, असार २१ । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताउनुभयो । उहाँले भन्नुभयो–“सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड–१९ आरडिटी विधिबाट परीक्षण भइरहेको छ ।”

कोभिड–१९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने अन्य विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित हुन मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता मापदण्ड अपनाउन अनुरोध गरिएको छ । उहाँले कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका र कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टाइन/आइसोलेसन’मा बस्न आग्रह गर्नुभयो ।

मानव आवतजावत हुने स्थानहरूमा विशेष सतर्कता अपनाउनुपर्ने बताउँदै आम जनतालाई निम्न मापदण्डहरू पालन गर्न आग्रह गर्नुभयो:
– मास्क अनिवार्य रूपमा लगाउने
– साबुनपानीले नियमित हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने
– व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने
– कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका तथा लक्षण देखिएका व्यक्तिहरूले ‘सेल्फ क्वारिन्टाइन’ वा ‘आइसोलेसन’मा बस्ने

सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सुदृढ कदम चालिरहेको भए पनि नागरिक तहबाट पनि उच्च सतर्कता अपनाउनु अपरिहार्य रहेको विज्ञहरूले बताएका छन् ।

विशेषज्ञहरूले जनस्वास्थ्यका मापदण्डको पालना नगरे हाल देखिएको सानो संख्याले पनि ठूलो महामारीको रूप लिन सक्ने चेतावनी दिएका छन् । देशको विभिन्न भागमा कोभिड–१९ को उपस्थिति पुष्टि भइसकेको अवस्थामा, सबै पक्ष गम्भीर भई साझा उत्तरदायित्वसहित अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति: २०८२ असार २०, शुक्रवार १४:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको