धनौजी गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ, असार २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा दायर उक्त मुद्दामा उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृत, अन्य कर्मचारी तथा निर्माण कम्पनीसमेत प्रतिवादी छन्।

आयोगका अनुसार आर्थिक वर्ष २०७७र७८ मा “बजार नाला तथा फोहरमैला व्यवस्थापन” शीर्षकअन्तर्गत बजेट विनियोजन गरिएको भए पनि कुनै वैधानिक निर्णयबिना बजार शेड निर्माण कार्य गोप्य रूपमा सुरु गरिएको थियो। एउटै निर्माण व्यवसायीबाट फरक–फरक नाममा तीनवटा टेन्डर दर्ता गरिएको, प्रतिस्पर्धा प्रक्रियालाई बेवास्ता गरिएको र कमिसनको आधारमा एकता सप्लायर्ससँग मिलेमतो गरी पटक–पटक म्याद थप्दै गुणस्तरहीन निर्माण कार्य गरिएको अख्तियारको ठहर छ।

अख्तियारले उनीहरूमाथि निर्माण कार्यभन्दा बढी नापी किताब तयार गरी ३१ करोड ३४ लाख ७७८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना गरेको आरोप लगाएको छ।

यस प्रकरणमा प्रतिवादीको रूपमा तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी र अन्य ६ कर्मचारी तथा ठेकेदार तथा एकता सप्लायर्स र सम्बन्धित कन्स्ट्रक्सन कम्पनीहरू रहेका छन्।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गर्दै सोही रकम बराबरको विगो माग गरेको छ। आयोगले सार्वजनिक पदको दुरुपयोग गरी सरकारी स्रोतको दुरुपयोग गर्ने कार्य अस्वीकार्य भएको स्पष्ट गर्दै दोषीहरूमाथि कानुनी कारबाहीको माग गरेको छ।

यो मुद्दा हाल विशेष अदालतमा विचाराधीन रहेको छ। यस घटनाले स्थानीय तहमा भइरहेको बजेट दुरुपयोग र मिलेमतोमा हुने अनियमितता उजागर गरेको छ। अख्तियारले यस्ता कार्यविरुद्ध सशक्त अनुगमन तथा कारबाही जारी रहने जनाएको छ।

प्रकाशित मिति: २०८२ असार २०, शुक्रवार १६:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको