जनकपुरधाम, असार २२ । राजर्षि जनक विश्वविद्यालयको भवन विवादमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र एमालेका महासचिव रघुवीर महासेठ आमने सामने भएका छन् । नेता निधिले हिजो पत्रकार सम्मेलन गरेर नेता महासेठले राजर्षि जनक विश्व विद्यालयको भवन फुलगामाको मनियारीमा निर्माण हुन नदिन विभिन्न बाधा अडचन खडा गरेको आरोप लगाएपछि नेता महासेठ आज पत्रकार सम्मेलन गर्दै छन् ।
राजर्षि जनक विश्वविद्यालय स्थापनामा सवै राजनीतिक दलको भूमिका रहे पनि तत्कालिन सरकारले सातवटै प्रदेशमा सातवटा विश्वविद्यालय स्थापना गर्ने नीति तहत नै राजर्षि जनक विश्वविद्यालय पनि स्थापना भएको थियो । तर, नेता निधि शिक्षा मन्त्री हुँदा बखत नै राजर्षि जनक विश्वविद्यालय प्रस्तावित रहेका कारण त्यसै नामबाट मधेश प्रदेशमा विश्वविद्यालय स्थापना भएको थियो । तर, धनुषा जिल्लाका ठूल ठूला नेताहरु जस लिनकालागि आफ्नै प्रयासवाट भएको भन्दै आएका छन् ।
राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणकालागि धनुषाको फुलगामाको ५२ विघा जग्गा प्रयाप्त नभए पनि विश्वविद्यालय सञ्चालनमा सहजता हुने नेता निधिले हिजो गरेको पत्रकार सम्मेलनमा दावी गरेका थिए । उनले एमालेका नेता रघुवीर महासेठ र उनका श्रीमति जुली महासेठको नाम नलिए पनि धनुषा निर्वाचन क्षेत्र नम्वर ३ र ४ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य भने भनेका थिए ।
तर, विश्वविद्यालयमा भने नेपाली कांग्रेसका नेता महेन्द्र यादवकै हस्तक्षेप रहेको छ । राजर्षि जनक विश्वविद्यालयका उप–कुलपति अमर यादव भने महेन्द्रकै अनुसार विश्वविद्यालयमा कर्मचारी देखि प्रध्यापक भर्ना सम्म गर्ने गरेका छन् । नेता यादवकै इसारामा धनुषा निर्वाचन क्षेत्र नम्वर ४ मा पर्ने गरी विश्वविद्यालयको भवन निर्माणार्थ जग्गाको पनि बन्दोबस्ती भईरहेको छ ।
यसै विषयमा एमाले नेता महासेठले पनि आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्ने भएको छ ।




