जनकपुरधाम, असार २४ । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालको अध्यक्षतामा आज बसेको मोर्चाको बैठकले उपनिर्वाचनमा मोर्चाको तर्फबाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई साझा उम्मेदवार को रुपमा समर्थन गर्ने निर्णय गरेको हो ।
बैठकले निजामति सेवा ऐनमा कुलिङ पिरियडको विषयमा भएको चलखेल लाई संसदीय व्यवस्थाको घोर अपमान रहेको भन्दै संलग्न दोषीलाई कडा कारबाहीको मांग गरेको छ ।
संवैधानिक नियुक्ति सम्बन्धिमा सर्वोच्चको फैसला संविधानको मर्म विपरित रहेको ठहर गर्दै मोर्चाले छुट्टै संवैधानिक अदालत बनाउन मांग गरेको छ ।
मोर्चाले आफनो आवश्यकता र औचित्य प्रष्ट पार्न यस अघि राजधानी काठमाण्डौं सहित मधेशको ६ स्थानमा सभा गर्ने निर्णयलाई बढाएर ८ स्थानमा गर्ने निर्णय गरेको छ ।
मोर्चाले साउन १७ गते काठमाण्डौं, २१ गते भैरहवा, २३ गते नेपालगंज , २५ गते कैलाली , भदौ १६ गते विराटनगर , १८ गते राजविराज , २० गते जनकपुर र २२ गते बिरगंजमा सभ ागर्ने भएका छन ।
बैठकमा जसपा नेपालबाट राजकिशोर यादव, मनिष सुमन, राम कुमार शर्मा, नागरिक उन्मुक्तिबाट रेशमलाल चौधरी, रंजिता चौधरी, लालबिर चौधरी, गंगा चौधरी, हिमान्चल भट्टराई , राष्ट्रिय मुक्ति पार्टीः– राजेन्द्र महतो, केशव झा, सन्तोष मेहता , लोसपाबाट महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाबाट डा. विजय सिंह, बिभा ठाकुर, पुनम झा, ब्रज किशोर सिंह, सुभाष कर्ण सहितको सहभागिता रहेको थियो ।




