अनुशासन समितिले गरेको कारबाही विधि सम्मत छैन : शेखर समूह



काठमाडौं, असार २६ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही विधिसम्मत नभएको निष्कर्ष शेखर कोइराला पक्षले निकालेको छ ।

आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको आरोप पनि लगाएको छ ।

बैठकमा सहभागी नेता राजेन्द्र बजगाईँले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्नेमा सो अनुसार नभएको बताए ।

नेकपा एमालेले आफ्नो पार्टीमा गरिरहेको कारबाहीको स्वरूप नै नेपाली कांग्रेसमा देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई हराएको आधारमा कारबाही गरिएको बताए । आसन्न निर्वाचन वा मध्यवधि हुने अवस्थामा गठबन्धन भए उम्मेदवार पराजित हुने डरले यस्तो भएको हुनसक्ने उनले बताए ।

नेपाली कांग्रेसको अनुशासन समितिले बहुमतको आधारमा संस्थापन इतरका नेता कार्यकर्तालाई हिजो बुधवार कारबाही गरेको थियो ।

अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी आएका थिए । उजुरी चुनावमा अन्तर्घात गरेका विषयमा अधिकांश रहेको समितिले जनाएको छ ।

प्राप्त उजुरी माथि निर्णय लिन ९ देखि १७ असारसम्म अनुशासन समितिको बैठक बसेको थियो । बैठकको निर्णय भन्दै संयोजक ढुंगानाले बुधबार कारबाहीमा परेका नामहरू सार्वजनिक गरेका छन् ।

कारबाहीमा पर्नेहरूमा प्रदेशका पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्लाका वर्तमान र पूर्व सभापति, महासमिति सदस्य लगायत १८ जना छन् ।

गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि निष्कासन गरिएको छ । कास्कीका पूर्व सभापति कृष्ण केसीलाई तीन महिनाका लागि निष्कासन गरिएको छ ।

लुम्बिनीका महामन्त्री खनाल नेता डा. शेखर कोइराला पक्षधर हुन् । खनालको विषयमा पार्टी केन्द्रीय समितिमा नेता कोइराला र केन्द्रीय सदस्य विनोद चौधरी बीचमा जुहारी समेत चलेको थियो ।

खनाललाई कारबाही गर्न अनुशासन समितिमा उद्योगपति समेत रहेका चौधरीले उजुरी दिएका थिए । नवलपरासीमा गत निर्वाचनमा आफूलाई हराउन खनाल लागेको चौधरीको उजुरीमा उल्लेख थियो ।

कारबाही गर्दा समयावधिमा तीन प्रकृतिको छुट्याएर कारबाही गरिएको छ । एक वर्ष, छ महिना, तीन महिनाका लागि कारबाही गरिएको छ ।

गत निर्वाचनमा कांग्रेस र आफ्नो दलले समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कारबाही गरिएको छ । उजुरी उपर स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ प्राप्त नभएको कारण देखाउँदै पार्टीबाट निष्कासन गरिएको उल्लेख छ ।

प्रकाशित मिति: २०८२ असार २६, बिहिवार १०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको