काठमाडौँ, असार २६ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (बिहीबार) दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्दैछ। बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको जागरण अभियानको समीक्षा, सरकारका कामकारबाही, संसद्मा पार्टीको भूमिका तथा बाढीपहिरोको अवस्थाबारे गम्भीर छलफल हुने माओवादी केन्द्रले जनाएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बस्ने बैठकमा हालैको राजनीतिक अस्थिरता, सत्तारूढ गठबन्धनमा देखिएको असमझदारी, प्रमुख विपक्षी दलहरूको गतिविधि, संसदमा देखिएको गतिरोध लगायत विषयवस्तुमा गहन छलफल हुने अनुमान गरिएको छ। साथै, पार्टीले केही समयदेखि सञ्चालन गर्दै आएको ‘जागरण अभियान’को समग्र समीक्षा गर्दै आगामी चरणका रणनीति तय गर्ने तयारी रहेको एक नेताले जानकारी दिए।
पदाधिकारी बैठक मा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारका तर्फबाट हालसम्म भएका कामकारबाहीको प्रगति विवरण प्रस्तुत गर्ने र पार्टी नेतृत्वसँग सुझाव तथा मार्गनिर्देशन लिने अपेक्षा गरिएको छ। पार्टीले सरकारको कार्यशैली, कार्यान्वयन गति, सेवा प्रवाह र सार्वजनिक चासोका विषयमा समेत गम्भीर समीक्षा गर्ने बताइएको छ।
यसबाहेक, देशका विभिन्न स्थानमा हालै आएको बाढी, पहिरो र डुबानले पुर्याएको जनधनको क्षति तथा राहत, उद्धार र पुनःस्थापनाको अवस्थाबारे समेत बैठकमा विशेष छलफल हुने भएको छ। विशेषगरी कर्णाली, सुदूरपश्चिम, गण्डकी र मधेस प्रदेशका पहाडी तथा तराई भूभागमा प्राकृतिक प्रकोपले सिर्जना गरेको मानवीय संकटलाई लिएर बैठकमा राहत कार्यक्रम र सरकारको प्रतिक्रिया समीक्षा गरिनेछ।
बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवहरू लगायत अन्य शीर्ष नेताहरूको सहभागिता रहनेछ। यो बैठकले पार्टीभित्रको एकता, सरकार र संसदमा भूमिका र भावी रणनीति निर्माणमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।




