काठमाडौँ, असार २६ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ‘ निफ्रा हरित उर्जा ऋणपत्र ६५ – २०८८र८९’ आज (बिहीबार) देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुन थालेको छ। यो ऋणपत्र निफ्राले पहिलोपटक हरित ९न्चभभल० उर्जा परियोजनामा लगानी आकर्षित गर्ने उद्देश्यले जारी गरेको हो।
निफ्राको हरित उर्जा ऋणपत्र ले ६ प्रतिशत वार्षिक ब्याजदर रहने गरी ७ वर्षे अवधिको ऋणपत्र बजारमा ल्याएको हो। प्रतिकित्ता १,००० रुपैयाँ अंकित मूल्यमा ५० लाख कित्ता ऋणपत्र निफ्राले नेप्सेमा असार २५ गते औपचारिक रूपमा सूचीकृत गराएको थियो। तर, सो ऋणपत्रमा कारोबार गर्न चाहने लगानीकर्ताहरूले आफ्नो हितग्राही खातामा ऋणपत्रको प्रमाणपत्र जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन्।
निफ्राले उक्त ऋणपत्र यसअघि जेठ १८ देखि २५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको थियो। त्यसपछि जेठ २९ गते बाँडफाँट प्रक्रिया सम्पन्न गरी योग्य आवेदकहरूलाई ऋणपत्र प्रदान गरिएको हो।
नेपालमै पहिलोपटक हरित उर्जा ऋणपत्रको रूपमा अनुमति प्राप्त यो ऋणपत्रबाट संकलित पूँजी वातावरणमैत्री तथा दिगो उर्जा परियोजनामा लगानी गरिने निफ्राले जनाएको छ। विशेषगरी सौर्य, पवन, जलविद्युत् जस्ता नवीकरणीय उर्जा स्रोतहरूमा आधारित परियोजनालाई वित्तीय सहयोग गर्ने उद्देश्य यस ऋणपत्रको रहेको छ।
हरित ऋणपत्रको प्रवर्द्धनले नेपालको पूँजी बजारमा दीर्घकालीन, स्थायित्वयुक्त तथा सामाजिक उत्तरदायित्वप्रति संवेदनशील लगानीको अभ्यास सुरु भएको संकेत दिएको छ। यसमार्फत निजी क्षेत्रका लगानीकर्ताहरूले पनि वातावरणमैत्री परियोजनामा प्रत्यक्ष सहयोग पुर्याउने अवसर पाएका छन्।
निफ्राले भविष्यमा यस्ता ऋणपत्रको श्रृंखला विस्तार गर्दै जलवायु परिवर्तन न्यूनीकरण, स्वच्छ उर्जा प्रवर्द्धन र दिगो पूर्वाधार विकासमा योगदान पुर्याउने योजना रहेको जनाएको छ। यस किसिमको ऋणपत्रले बैंक तथा वित्तीय संस्थाहरूको लगानी ढाँचामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
लगानीकर्ताहरूले अब नियमित रूपमा दोस्रो बजारमार्फत पनि निफ्राको हरित उर्जा ऋणपत्र खरीद–बिक्री गर्न सक्नेछन्, जुन वातावरण संरक्षण र आर्थिक प्रतिफल दुवैको सन्तुलन खोज्नेहरुको लागि उपयुक्त विकल्प बन्न सक्छ।




