आज विभिन्न कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाइँदै



काठमाडौँ, असार २७ । आज नेपालभर विभिन्न कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाइँदै छ। हरेक वर्ष जुलाई ११ (असार २७) मा मनाइने यो दिवसले जनसङ्ख्या सम्बन्धी विषयहरूमा जनचेतना फैलाउने उद्देश्य राख्दछ।

विश्व जनसंख्या दिवसको शुरुवात सन् १९८७ को जुलाई ११ मा भएको हो। सो दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको अवसरमा ‘पपुलेशन समिट’ ले यो दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता हरेक वर्ष यो दिवस विभिन्न मुलुकमा जनसंख्या वृद्धि, मानव अधिकार, लैङ्गिक समानता, प्रजनन स्वास्थ्य र विकासबीचको सम्बन्धबारे सचेतना फैलाउने उद्देश्यले जनसंख्या दिवस मनाइँदै छ ।



सन् २०२५ मा मनाइँदै गरेको विश्व जनसंख्या दिवसको मूल नारा हो – ‘मानिसहरूमा लगानीः प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’। यस वर्षको सन्देशले विशेषगरी आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु संकटजस्ता चुनौतीहरूमाझ जनस्वास्थ्य र अधिकारलाई केन्द्रमा राख्न जोड दिएको छ।

यस नारा अन्तर्गत शिक्षा, स्वास्थ्य सेवा, यौन तथा प्रजनन स्वास्थ्य, र परिवार नियोजन सेवामा सबैको समान पहुँच सुनिश्चित गर्नु अपरिहार्य मानिएको छ। विशेषगरी किशोरीहरू, महिला, दलित, जनजाति र ग्रामीण क्षेत्रका समुदायलाई लक्षित गर्दै उनीहरूका लागि सेवाको पहुँच, गुणस्तर र अधिकार सुनिश्चित गर्ने विषयमा आज विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

जनसंख्या वृद्धिले स्रोत र साधनमा पर्ने दबाब, बेरोजगारी, खाद्य संकट, जलवायु परिवर्तन, शहरीकरण र शिक्षा तथा स्वास्थ्यमा पर्ने प्रभावबारे विभिन्न सरकारी, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले बहस, गोष्ठी र चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।

नेपालमा समेत जनसङ्ख्याको वृद्धिसँगै शहरीकरण, बेरोजगारी, स्वास्थ्य सेवा अभाव र वातावरणीय चुनौतीहरू बढ्दो छन्। यसलाई व्यवस्थित गर्न दीर्घकालीन योजना, युवाहरूको क्षमताविकास, महिला सशक्तीकरण र नीतिगत सुधारहरू आवश्यक देखिएको छ।

आजको दिनले सरकार र नीति निर्माताहरूलाई जनसङ्ख्या विषयमा दीर्घकालीन सोच राख्न प्रेरित गर्ने विश्वास लिइएको छ। जनसंख्या वृद्धि मात्र चुनौती होइन, यदि यसको व्यवस्थापन ठीकसँग गरियो भने मानव संसाधन विकास, उत्पादन वृद्धि र समृद्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश पनि यो दिवसले दिन खोजेको छ।

प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार ०८:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको