जनकपुरधाम, असार २८ । मधेश प्रदेशमा यस वर्ष असार महिनाको अन्त्यसम्म आइपुग्दा पनि पर्याप्त वर्षा नभएको कारणले धान रोपाइँ प्रभावित भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेश प्रदेशमा २५ प्रतिशत प्रदेशभर कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म जम्मा ९३ हजार ४ सय ६८ दशमलव २ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भएको छ। यो कुल क्षेत्रफलको मात्र करिब २५ प्रतिशत हो।
प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा बढी रोपाइँ पर्सा जिल्लामा भएको छ। पर्सामा ३९ हजार ७ सय ३१ हेक्टरमध्ये २४ हजार ६ सय ३१ हेक्टर अर्थात् ६१.९९ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ।
त्यसको विपरीत, सबैभन्दा कम रोपाइ महोत्तरी जिल्लामा देखिएको छ। त्यहाँ ४२ हजार ५ सय हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये ४ हजार हेक्टर अर्थात् ९.४१ प्रतिशतमा मात्रै रोपाइ भएको मन्त्रालयले जनाएको छ।
सप्तरी जिल्लामा पनि अवस्था जटिल देखिएको छ। कुल ६८ हजार हेक्टरमध्ये हालसम्म केवल ६ हजार ८ सय हेक्टरमा मात्र धान रोपाइ भएको छ, जुन जम्मा १० प्रतिशत हो।
सिरहा जिल्लामा ५४ हजार हेक्टरमध्ये १३ हजार ५ सय हेक्टरमा, अर्थात् २५ प्रतिशतमा रोपाइ सम्पन्न भएको छ। धनुषा जिल्लामा ४३ हजार ७ सय हेक्टरमध्ये ७ हजार ४ सय २९ हेक्टरमा, जुन कुलको १७ प्रतिशत हो, रोपाइँ भएको छ।
बारा जिल्लामा ४६ हजार २० हेक्टर खेतीयोग्य क्षेत्रमध्ये १० हजार हेक्टरमा धान रोपिएको छ। रोपाइँको प्रतिशत २१.७ रहेको छ। त्यस्तै, रौतहट जिल्लामा २५ हजार हेक्टरमध्ये १४ हजार हेक्टरमा रोपाइँ भएको छ, जुन ४० प्रतिशत हो।
सर्लाहीमा कुल ४३ हजार ६ सय ९४ हेक्टरमध्ये १३ हजार १ सय ८ दशमलव २ हेक्टर अर्थात् ३० प्रतिशतमा रोपाइँ भएको छ।
वर्षाको अभावका कारण धेरै क्षेत्रमा बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गर्नुपरेको भए पनि पानी जमिनमा नटिक्ने समस्या देखा परेको छ। यसले उत्पादन लागत बढ्ने र बाली सुक्ने खतरा निम्त्याएको छ।
खडेरीको गम्भीर अवस्थालाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशका आठवटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। सरकारले सम्भावित खाद्य संकट र कृषकको क्षतिको मूल्यांकनका लागि राहत तथा अनुदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ।
कृषकहरू भने समयमा वर्षा नभएको र वैकल्पिक सिँचाइ स्रोतको अभावले आगामी बाली उत्पादनमा गम्भीर असर पर्ने चिन्तामा छन्। खेतमा चिरा फाट्न थालेको र बिउ समेत सुक्न थालेको गुनासो उनीहरूको छ।
कृषि विशेषज्ञहरूका अनुसार यदि केही दिनभित्र पर्याप्त वर्षा नभए मधेश प्रदेशमा खाद्य संकट निम्तिन सक्ने खतरा रहेको छ। अबको समय कृषिकालागि अत्यन्त संवेदनशील रहेको र सरकारी तथा स्थानीय निकायको तर्फबाट तत्काल राहत तथा दीर्घकालीन सिँचाइ समाधानमा ध्यान दिन आवश्यक देखिन्छ।




