जनकपुरधाम, असार २८। मधेस प्रदेशसभामा बजेटको छानबिनका लागि गठित कार्यदलको विषयलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच विवाद चर्किएको छ। त्यसैको परिणामस्वरूप आज पनि विपक्षी सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गरे।
प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठन गरिएको कार्यदलमा मन्त्रीको नाम समावेश गरिएपछि प्रतिपक्षी दलले कडा आपत्ति जनाउँदै बैठक चल्न नदिएको हो। उनीहरुले कार्यदलमा सरकार पक्षबाट मन्त्री समावेश हुनु स्वतन्त्र छानबिनको मर्म विपरीत भएको बताएका छन्। विरोध कायमै रहेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरे।
बैठक पुनः सुरु भएपछि सभामुख मण्डलले कार्यदलको संयोजक पदबाट राजीनामा दिएका छन्। उनले सदनलाई सम्बोधन गर्दै समय अभावका कारण आफू संयोजकको जिम्मेवारी पूरा गर्न नसक्ने भएकाले पदबाट अलग हुने निर्णय गरेको जानकारी गराए। उनले भने, “कार्यदलले गर्ने काम धेरै छन्। तर, म सभामुखको हैसियतमा अन्य जिम्मेवारीमा व्यस्त रहने भएकाले संयोजक पदमा रहन सक्दिन।”
कार्यदल गठनबारे माओवादी केन्द्रका सांसद युवराज भट्टराईले बोलेका थिए। उनले विपक्षी दल कार्यदल गठनमा सहमत रहेको तर कार्यदलमा मन्त्रीको नाम राखिएपछि विरोध गर्न बाध्य भएको बताए। भट्टराईले भने, “मुख्यमन्त्रीले छलफल गरी निर्णय गर्ने आश्वासन दिएका थिए। तर, त्यसको पालना भएन। मन्त्रीलाई कार्यदलमा राख्नु स्वीकार्य छैन। मन्त्रीको नाम हटाइएन भने विरोध जारी रहन्छ।”
उनले सरकार पक्ष लचिलो नभएको आरोपसमेत लगाए। “विपक्षले संवादको बाटो रोजेको हो, तर सरकार एकपक्षीय रूपमा अघि बढ्न खोज्दैछ,” उनले भने।
सभामुख मण्डलले लगातार बैठक अवरुद्ध हुँदै आएको भन्दै यो अवस्थाबाट प्रदेशसभा अघि नबढ्ने स्पष्ट पारे। उनले बजेटमाथिको छलफल सकिनुपर्ने भएकाले अर्थमन्त्री सुनिलकुमार यादवलाई जवाफ दिन रोष्टममा बोलाएका थिए। तर, विपक्षी सांसदहरूले रोष्टम घेराउ गरेपछि बैठक फेरि स्थगित भयो।
यसरी कार्यदल गठनको विवादले मधेस प्रदेशसभामा बजेट छलफलमा अवरोध आउन थालेको छ। विपक्ष र सत्ता पक्षबीचको संवाद अभावले आगामी दिनमा पनि राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएको छ।






