काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको शुभकामना सन्देश जारी गर्दै भानुभक्तप्रति शुभकामना व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भानुभक्तले नेपाली जनमानसमा रामायण रोपेर भाषा र भावनाको सेतु निर्माण गरेको उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा उनले लेखेका छन्, ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो। नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना।’
भानुभक्त आचार्यलाई नेपाली साहित्यमा ‘आदिकवि’को रूपमा चिनिन्छ। उनले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा पद्यशैलीमा अनुवाद गरी नेपाली साहित्यमा एक नयाँ युगको सुरुवात गरेका थिए। तिनको लेखनले नेपाली भाषा, साहित्य र संस्कृतिलाई गहिरो प्रभाव पारेको छ।
भानुभक्त आचार्यले नेपाली मनमा जनसाधारणले बुझ्ने भाषामा लेखन कार्य गरेकाले उनी जनकवि पनि मानिन्छन्। नेपाली भाषालाई अभिव्यक्तिको सशक्त माध्यम बनाउने उनको प्रयासले नेपाली भाषाको विकासमा ऐतिहासिक योगदान दिएको इतिहासकारहरू बताउँछन्। भानुभक्तको रामायण आज पनि नेपाली समाजमा धार्मिक, सांस्कृतिक र साहित्यिक मूल्यको रूपमा पढिन्छ र सुनिन्छ।
प्रधानमन्त्रीको सन्देशले साहित्यिक स्रष्टाहरूलाई भानुभक्तको योगदानबाट प्रेरणा लिन र नेपाली भाषा तथा साहित्यको समृद्धिको निम्ति योगदान दिन आग्रह गरेको छ। उनले भानुजयन्तीलाई नेपाली पहिचान, भाषा, संस्कृति र साहित्यप्रतिको सम्मानको दिनका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
देशभरका विभिन्न स्थानमा भानुभक्त आचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विद्यालय, साहित्यिक संस्था तथा स्थानीय तहमा विशेष कवि गोष्ठी, वक्तृत्वकला प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। विशेषगरी तनहुँ जिल्लाको चुँदी रम्घा जहाँ भानुभक्तको जन्म भएको थियो त्यहाँ विशेष कार्यक्रमको आयोजना गरिएको छ।
भानुभक्त जयन्ती नेपाली साहित्य, भाषा र सांस्कृतिक चेतनाको पुनः स्मरण गर्ने अवसर बनेको छ। प्रधानमन्त्री ओलीको सन्देशले त्यो स्मृतिलाई अझ व्यापक बनाएको छ।






