काठमाडौँ, असार २९ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। संसद सचिवालयले जारी गरेको कार्यसूचीअनुसार आजको प्रतिनिधिसभा बैठकमा तीन महत्वपूर्ण विधेयकमाथि छलफल हुने तय भएको छ।
सबैभन्दा पहिले, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुहुनेछ। यो विधेयकले डिजिटल सुरक्षा, साइबर अपराध नियन्त्रण, डेटा संरक्षण र इन्टरनेटको सुरक्षित प्रयोगसम्बन्धी कानुनी व्यवस्था गर्न खोजिएको छ। पछिल्ला वर्षहरूमा नेपालमा साइबर आक्रमण, अनधिकृत डेटा पहुँच तथा अनलाइन ठगीका घटना बढिरहेका बेला उक्त विधेयक आएको हो।
दोस्रो कार्यसूची अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ पेश गर्नुहुनेछ। उक्त विधेयकले नेपालमा औद्योगिक सम्पत्तिका हक संरक्षण, नवप्रवर्तनको प्रवर्द्धन तथा बौद्धिक सम्पत्तिका विषयमा अन्तर्राष्ट्रिय मान्यताअनुरूप कानुनी संरचना निर्माण गर्ने उद्देश्य राखेको छ। यसले आविष्कार, डिजाइन, ट्रेडमार्क, तथा पेटेन्ट जस्ता विषयलाई समेट्ने अपेक्षा गरिएको छ।
तेस्रो विधेयकका रूपमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यो प्रस्तावमार्फत राष्ट्रियसभाले पारित गरेका संशोधनलाई प्रतिनिधिसभाले अनुमोदन गर्ने वा पुनर्विचार गर्ने प्रक्रिया अघि बढाइनेछ।
आजको बैठकलाई महत्त्वपूर्ण मानिएको छ, किनभने प्रस्तुत गरिने विधेयकहरूले डिजिटल सुरक्षा, औद्योगिक नवप्रवर्तन र कानुनी सुधारजस्ता समसामयिक विषयवस्तु समेटेका छन्। यिनले नेपालको नीति निर्माण, कानुनी संरचना तथा विकासको गतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
बैठकको कार्यसूचीअनुसार सम्भावित छलफल, सुझाव तथा संसदीय प्रक्रिया सम्पन्न गरेपछि विधेयकहरूलाई सम्बन्धित समितिमा पठाउने वा सैद्धान्तिक छलफलमा लैजाने प्रक्रियालाई अगाडि बढाइनेछ। संसद् सचिवालयले आजको बैठक समयमै सुरु हुने जानकारी दिएको छ।






