काठमाडौं, असार २९ । संघीय संसद अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ। आइतबार बिहान ११ः३० बजे सिंहदरबारमा एकै समयमा दुई समितिका बैठक तय भएका छन्। यी बैठकहरूमा भोटेकोशी बाढीको प्रभाव, विपद् व्यवस्थापन, सरकारी आश्वासन, तथा वित्तीय संघीयताको कार्यान्वयनजस्ता महत्वपूर्ण विषयमा छलफल हुने कार्यक्रम तय भएको छ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा २०८२ असार २४ गते भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न विपद् व्यवस्थापन सम्बन्धमा सरोकारवाला मन्त्रालयहरूसँग छलफल गरिने कार्यसूची रहेको छ। साथै, आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उठाइएका सरकारी आश्वासनहरूको प्रगति तथा कार्यान्वयन अवस्थामाथि पनि बैठकमा समीक्षा गरिनेछ। बाढीबाट भएको क्षतिको मूल्याङ्कन, राहत तथा पुनःस्थापनाका कार्यक्रम र सरकारी तयारीको अवस्थाबारे गम्भीर छलफल हुने अनुमान गरिएको छ।
त्यसैगरी, संघीय संसद अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ः३० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा वित्तीय संघीयता कार्यान्वयनका विषयमा चर्चा गरिने छ। विशेषगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट हालसम्म भएका कामकारवाही, आयोगले सरकारलाई दिएको सिफारिस, र ती सिफारिसको कार्यान्वयन अवस्था समीक्षा गरिनेछ। संघीय प्रणालीमा स्रोत बाँडफाँट, बजेट विनियोजन तथा स्थानीय सरकारका अधिकार र जिम्मेवारी स्पष्ट गर्ने सन्दर्भमा यो बैठक महत्त्वपूर्ण मानिएको छ।
समितिहरूले आ-आफ्ना बैठकमार्फत सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरी नीतिगत, कार्यक्रमगत तथा व्यावहारिक पक्षमा सुधारका लागि सुझाव दिनेछन्। संसदमा कार्यरत यी समितिहरू नीति निर्माण, कार्यान्वयनको अनुगमन तथा उत्तरदायित्व सुनिश्चित गर्ने महत्त्वपूर्ण संयन्त्र हुन्।
आजको बैठकहरूमा उठ्ने विषयहरूले विशेष गरी प्राकृतिक प्रकोपको तत्कालीन व्यवस्थापन, दीर्घकालीन समाधानका उपाय र संघीयताको प्रभावकारी कार्यान्वयनलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। यसले नीतिनिर्माण तहमा सुधारको संकेत दिने विश्वास संसद सचिवालयले व्यक्त गरेको छ।




