सन्तोष यादव
राजनीतिक चेतनाको स्तर वृद्धि हुनु लोकतन्त्रको लागि शुभ संकेत हो। फरक विचार राख्न सक्ने, नेतृत्वलाई प्रश्न गर्न सक्ने, र संस्थागत संवाद गर्न सक्ने संस्कार जहाँ विकसित हुन्छ, त्यहाँ मात्र लोकतन्त्र बलियो हुन्छ। तर, हालै जनमत पार्टीभित्र देखिएको घटनाले मधेसको राजनीतिक फाँटमा गम्भीर संकटको संकेत गरेको छ।
जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर दिपक शाह र कोषाध्यक्ष इन्जिनियर सुरेन्द्रनारायण यादवमाथि कालोमोसो दलिएको घटनाले लोकतन्त्रमा विश्वास राख्ने सबैलाई झस्काएको छ। फरक मत राख्ने नेतालाई अपमानजनक ढंगले दमन गर्ने परिपाटी आखिर कुन दिशातर्फको संकेत हो ?
फरक मत दबाउने परम्पराको सुरुवात ?
पार्टीभित्रको लोकतान्त्रिक संवादलाई मतभेदको रूपमा हेर्नुको सट्टा त्यसलाई षड्यन्त्रको रूपमा चित्रण गर्नु केवल नेतृत्वमा असुरक्षा भाव झल्काउने काम हो। लोकतन्त्रको आधार भनेकै ‘सहमति र असहमतिको सहअस्तित्व’ हो। यदि यही आधारमा प्रहार भयो भने, संगठन केवल नेतृत्वको आडमा चल्ने निजी गुट मात्र बन्न पुग्छ।
आज प्रश्न उठाउनु जरुरी छ — के फरक विचार राख्दा, नेतृत्वको निर्णयमाथि शंका उठाउँदा वा पारदर्शिता खोज्दा नेतामाथि कालोमोसो दल्न पाइन्छ? यदि यही शैली भोलि अध्यक्ष डा. सी.के. राउतमाथि प्रयोग भयो भने के त्यो पनि न्यायसंगत हुनेछ ?
नेतृत्वप्रति प्रश्न उठाउनु अपराध होइन
नेतृत्वले आलोचना सहन सक्नुपर्छ। आफ्नै पार्टीका शीर्ष नेताहरूले सार्वजनिक रूपमा असहमति जनाउनु कुनै व्यक्तिगत प्रतिशोध होइनस त्यो त राजनीतिक संगठनलाई अझ जवाफदेही र पारदर्शी बनाउने प्रयास हो।
तर, ती प्रयासहरूलाई गाली, धम्की र अपमानको प्रतिक्रियाले दबाउने प्रवृत्ति केवल सत्तामा टिक्न चाहने नेताहरूको रणनीति हो — विचार र मूल्यमा आधारित राजनीति होइन।
मधेसको राजनीति कुन दिशातर्फ ?
मधेस विगतदेखि नै राजनीतिक दमन, विभेद र उपेक्षाको पीडामा छ। त्यही पीडाबाट मुक्त हुन भनेर डा। सी।के। राउतले स्वतन्त्र मधेसको अभियान छोडेर लोकतान्त्रिक मूलधारमा प्रवेश गर्नुभएको थियो। तर अहिले आफ्नै नेतृत्वमा अराजकता, उदण्डता र असहिष्णुताको खेती हुन थाल्दा मधेसका जनता फेरि अन्योलमा छन्।
जनताको आँखा खुलेका छन्। उनीहरूले अब नेतृत्वको नाममा गुण्डागर्दी स्वीकार्दैनन्। नेतृत्व अब आलोचना सहन सक्नुपर्छ, प्रश्नको जवाफ दिन सक्नुपर्छ र फरक मतलाई सम्मान गर्न सक्नुपर्छ।
निष्कर्ष
जनमत पार्टीभित्र घटेको पछिल्लो घटनाले अध्यक्ष डा। सी।के। राउतको राजनीतिक यात्रामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। पार्टीभित्र आलोचना र संवादको ठाउँ घट्दै जानु, शान्तिपूर्ण आन्दोलनको नाममा हिंसाको सहारा लिनु, र लोकतन्त्रको नाममा आलोचना दबाउनु — यी सबै लोकतान्त्रिक मूल्यको घोर अपमान हुन्।
यदि पार्टीभित्रै असहमतिको स्वर दबाइन्छ भने, त्यो पार्टीले समाजको आवाज कसरी सुन्न सक्छ ?
अब समय आएको छ — नेतृत्व बोल्नुपर्छ, जवाफ दिनुपर्छ, र लोकतन्त्रको मूल्यमा गहिरो प्रतिबद्धता देखाउनुपर्छ। मधेसले राजनीतिक परिवर्तन चाहेको हो, नेतृत्वको अहंकार होइन।




