सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरू सकारात्मक दिशामा : प्रधानमन्त्री ओली



काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्ष नपुग्दै मुलुकका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत देशवासीहरूलाई सम्बोधन गर्दै उनले आर्थिक सुधार, सेवा प्रवाह र विकास आयोजनाहरूको गति उल्लेखनीय रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीका अनुसार एक वर्षको अवधिमा सरकारले विकासका राष्ट्रिय महत्वका परियोजनाहरूमा गति थप्ने काम गरेको छ। उनले अघिल्लो कार्यकालमा काममा ढिलासुस्ती, अनिश्चितता र नतिजामुखी सोचको अभाव रहेको उल्लेख गर्दै अहिलेको सरकारले कामलाई समयसीमा (टाइमलाइन) मा बाँधेर नतिजा उत्पादन गर्ने अभ्यासको सुरुवात गरेको दाबी गरे।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वमा देशको आर्थिक सूचकांकहरू सुधारोन्मुख अवस्थामा रहेको उल्लेख गरेका छन्। उनले वित्तीय स्थायित्व, राजस्व संकलन, वैदेशिक मुद्रा सञ्चिति, तथा पुँजीगत खर्चको कार्यान्वयनजस्ता सूचकमा सकारात्मक सुधार देखिएको बताए। यद्यपि उनले यस्ता सुधारहरूको विस्तृत तथ्यांक सार्वजनिक गरेका छैनन्, तर आफ्नो भनाइमा सुधारको गति आशाजनक रहेको प्रष्ट पारे।

प्रधानमन्त्रीले निजगढ विमानस्थल, बूढीगण्डकी जलविद्युत्, राष्ट्रिय सडक सञ्जाल विस्तार, र शिक्षा तथा स्वास्थ्य पूर्वाधार विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताए। उनले राष्ट्रिय परियोजनाहरूमा समयमै बजेट विनियोजन, कार्यान्वयन निगरानी र नतिजामुखी संयन्त्र लागू गरिएको दाबी गरे।

त्यस्तै, उनले नागरिक सेवा प्रवाहमा सुधार ल्याउन आवश्यक कानुनी सुधारहरू गरिएको जानकारी गराउँदै सरकार सेवा प्रवाहलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै अगाडि बढेको उल्लेख गरे। ‘लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भइसकेको छ, सेवा प्रणाली अनलाइनतर्फ उन्मुख छ’, प्रधानमन्त्री ओलीले लेखे।

उनका अनुसार ूकाम गर्ने समय तोकिने र नतिजा मागिनेू संस्कृतिको सुरुवात अहिलेको सरकारले गरेको हो। अघिल्लो व्यवस्थामा यस्ता अभ्यासहरू नगन्य रहेको भन्दै उनले हाल सरकारी कामकाजमा पारदर्शिता, जवाफदेहिता र समयप्रति प्रतिबद्धता देखिएको बताए। ‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ’, प्रधानमन्त्रीले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले देशका दीर्घकालीन चुनौतीहरूमाथि सरकारको ध्यान केन्द्रित रहेको स्पष्ट पारे। रोजगारी सिर्जना, विदेशी लगानी आकर्षण, पूर्वाधार विस्तार, शिक्षा सुधार, र स्वास्थ्यमा पहुँच वृद्धि जस्ता क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले स्वीकार गरे। यद्यपि, उनी आशावादी छन् कि वर्तमान सरकारको ूदिगो सुधार र सुशासनू मा केन्द्रित कार्यशैलीले परिवर्तन सम्भव बनाउनेछ।

उनले स्पष्ट रूपमा भने, ‘हामीसँग गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ।’ यसले संकेत गर्छ कि सरकार आन्तरिक कार्यशैलीमा सुधार ल्याउनेतर्फ मात्र नभई, समग्र विकास दृष्टिकोणमा पनि केन्द्रित हुन चाहन्छ।

आफ्नो सन्देशको अन्त्यमा प्रधानमन्त्री ओलीले देशका सबै नागरिकप्रति नमन र आभार व्यक्त गर्दै सबैको सहयोग र धैर्यको कदर गरेका छन्। ‘देश निर्माणमा सबैको भूमिका महत्वपूर्ण छ,’ भन्दै उनले सहकार्य र सकारात्मक सोचको आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीको यो सन्देशले सरकारको एक वर्षे कार्यकालको समीक्षा मात्रै होइन, आगामी कार्यदिशाको संकेत पनि दिएको छ। आर्थिक सूचक सुधार, विकासको गति, डिजिटल सेवा प्रवाह र प्रणालीगत पारदर्शिता जस्ता विषयमा उनले जुन प्रतिबद्धता व्यक्त गरेका छन्, त्यसलाई कार्यान्वयनमा देखिनु आवश्यक छ।

नागरिकको जीवनस्तर सुधार, गरिबी न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण र अवसर सिर्जना जस्ता चुनौतीहरूसमेत अझै अगाडि छन्। प्रधानमन्त्री ओलीको दाबी र प्रतिवद्धताहरूको सफलताको मूल्यांकन यिनै क्षेत्रमा देखिने ठोस परिणामबाट मात्र सम्भव हुनेछ।

प्रकाशित मिति: २०८२ असार ३०, सोमबार ०९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको