जनकपुरधाम, असार ३० । सामाजिक सञ्जाल टिकटकमा अभद्र भाषा र अश्लील गाली गलौज गर्दै सार्वजनिक शिष्टाचार विपरीत गतिविधि गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकी युवती जनकपुरधाम उपमहानगरपालिका–२४ निवासी करिब २० वर्षीया रोशनी खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
प्रहरीका अनुसार खातुनले टिकटकमा गाली गलौज बारम्बार अश्लील तथा अपमानजनक शब्दहरू प्रयोग गर्दै भिडियोहरू सार्वजनिक गर्ने गरेको पाइएको छ। सामाजिक सद्भावमा खलल पुग्ने किसिमका सामग्री सार्वजनिक गरेपछि प्रहरीमा उजुरी परेका थिए। त्यसको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता का अनुसार खातुनले प्रयोग गरेका भाषा र प्रस्तुतिहरूले समाजमा नकारात्मक प्रभाव पारिरहेको र सार्वजनिक नैतिकता तथा सामाजिक मर्यादाविपरीत रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनका गतिविधिले युवाहरूमा गलत सन्देश फैलाउने र विद्यमान सामाजिक सम्बन्धमा असन्तुलन ल्याउने अवस्था सिर्जना भएको प्रहरीको ठहर छ।
खातुनविरुद्ध मुलुकी अपराध संहिता अन्तर्गतको ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत धनुषाबाट म्याद थप अनुमति लिएर उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले हाल सामाजिक सञ्जालमा भइरहेका आपत्तिजनक तथा गैरकानुनी क्रियाकलापहरू माथि निगरानी बढाएको जनाएको छ। प्रविधिको गलत प्रयोगका कारण समाजमा विकृति र विसंगति बढ्दै गएका गुनासाहरूलाई मध्यनजर गर्दै यस्ता गतिविधिमा संलग्नहरूलाई कानुनी कारबाही गरिने जनाएको छ।
यस घटनाले सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर सुरक्षासम्बन्धी चेतना आवश्यक रहेको कुरालाई पुनः उजागर गरेको छ। प्रहरी प्रशासनले सामाजिक सञ्जालको दुरुपयोग गरी अश्लीलता फैलाउने, जातीय, धार्मिक वा सांस्कृतिक सद्भावमा आघात पुर्याउने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ।
यससँगै प्रहरीको साइबर युनिटले नागरिकलाई सामाजिक सञ्जाल प्रयोग गर्दा शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार अपनाउन आग्रह गरेको छ।




