मनसुन विपद् व्यवस्थापनमा सक्रिय रहन रास्वपाको आह्वान



काठमाडौं, असार ३० । मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको जोखिम बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनमा सक्रिय रहन विशेष आह्वान गरेको छ।

रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्याल द्वारा जारी विज्ञप्तिमा देशभर सम्भावित प्राकृतिक विपद्का घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, पार्टीका सबै तह, विभाग, सदस्यहरू र शुभेच्छुकहरूलाई द्रुत उद्धार, राहत वितरण र मानवीय सहयोगमा संलग्न हुन अपिल गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो। हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ।’

रास्वपाले विपद् व्यवस्थापनलाई साझा राष्ट्रिय जिम्मेवारीको रूपमा लिँदै, सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, स्वयम्सेवी संस्था र नागरिकलाई मिलेर काम गर्न आग्रह गरेको छ। पार्टीले दलीय स्वार्थभन्दा माथि उठेर नागरिकको ज्यान, घरजग्गा र सम्पत्ति जोगाउने अभियानमा जुट्न आह्वान गरेको छ।

कार्यवाहक सभापति अर्यालले देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण संभावित विपद् घटनाहरूको जोखिम बढेकाले सतर्कता, सजगता र तत्कालिक प्रतिकार्य योजना निर्माण आवश्यक भएको उल्लेख गरे। उनले भने, “विपद्को पूर्व तयारी, तिनको न्यूनिकरण, र घटनापछिको मानवीय हस्तक्षेप हाम्रो प्रमुख जिम्मेवारी हो।”

रास्वपाले सरकारलाई पनि विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत, पूर्व सूचना प्रणाली र उद्धार संयन्त्रलाई थप सुदृढ गर्न सुझाव दिएको छ। पार्टीले आपतकालीन उद्दार कार्यमा संलग्न निकायहरूसँग समन्वय गर्दै आवश्यक परेमा सहयोग गर्न तयार रहेको जनाएको छ।

रास्वपाको यो सन्देशले विपद् व्यवस्थापनलाई मात्र नभई नागरिक चेतना र दायित्व बढाउनेतर्फ पनि इंगित गरेको छ। विपद्का बेला दलीय सीमाभन्दा माथि उठेर कार्य गर्न सकिए मात्र ठूलो क्षति रोक्न सकिने पार्टीको धारणा छ।

मनसुन अवधिभर हुने बाढी, पहिरो, डुबान जस्ता घटनाले हरेक वर्ष सयौं जनजीवन प्रभावित बनाउँदै आएको सन्दर्भमा रास्वपाको चेतावनी र आह्वान समयमै आएको मानिएको छ।

प्रकाशित मिति: २०८२ असार ३०, सोमवार १०:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको