सेवन्तक पोखरेल नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त



काठमाडौं, असार ३१ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरिएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज पोखरेललाई सपथ गराउँदै औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार बीमा प्राधिकरणको अध्यक्ष मा सहसचिव पोखरेलको नियुक्ति  गरिएको हो। मन्त्रिपरिषद्ले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको रूपमा कार्य गर्ने गरी जिम्मेवारी दिएको हो।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध परेका उजुरीका आधारमा हाल उनको पद स्वतः निलम्बनमा परेको छ। बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो।

मन्त्रिपरिषद्को निर्णय अनुसार उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा सदस्यका रूपमा जीवनप्रकाश सिटौला र कपिलदेव ओली छन्। आजै उक्त समितिका सदस्यहरूले औपचारिक रूपमा आफ्नो नियुक्तिको पत्र ग्रहण गरेका छन्।

शरद ओझाविरुद्ध बीमा प्राधिकरणमा कार्यसम्पादनमा पारदर्शिता र जवाफदेहिताका अभाव, स्वेच्छाचारिता, नीति नियम विपरीतका निर्णय तथा अधिकारको दुरुपयोगजस्ता आरोपहरू लागेका थिए। ती आरोपहरूको गम्भीरताका आधारमा सरकारले छानबिन गर्ने निर्णय गरेको हो।

छानबिन समितिले ओझाविरुद्धको मुद्दा छानबिन गरेर निष्कर्ष पेश गरेपछि मात्र उनको भविष्यमाथि निर्णय हुनेछ। समितिलाई छानबिनका लागि ३० दिनको समय दिइएको छ।

नवनियुक्त अध्यक्ष सेवन्तक पोखरेल लामो समयदेखि अर्थ मन्त्रालयमा काम गर्दै आएका अनुभवी प्रशासनिक अधिकृत हुन्। बीमा क्षेत्रको नियमन, सुधार र पारदर्शिता सुनिश्चित गर्न पोखरेलले संस्थागत क्षमता अभिवृद्धि, डिजिटल प्रणालीको प्रयोग, बीमा व्यवसायको विस्तार तथा बीमा उपभोक्ताको हक–हित संरक्षणमा जोड दिने बताएका छन्।

उनले बीमा क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्ड बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै दीर्घकालीन रणनीति अघि बढाइने प्रतिबद्धता जनाएका छन्।

नेपाल बीमा प्राधिकरण बीमा कम्पनीहरूलाई नियमन, अनुगमन र मूल्याङ्कन गर्ने संवैधानिक निकाय हो। पछिल्लो समय बीमा क्षेत्रले आर्थिक गतिविधिमा उल्लेखनीय भूमिका खेलेको छ। तर, यसको पारदर्शिता, जवाफदेहिता र नियमनको प्रभावकारितामाथि बारम्बार प्रश्न उठ्ने गरेको छ।

पोखरेलको नियुक्तिसँगै बीमा प्राधिकरणमा शुद्धीकरण र सुधारको अपेक्षा गरिएको छ। उनका लागि यो चुनौती र अवसर दुवै हुनेछ, किनभने बीमा क्षेत्रमा आमनागरिकको विश्वास बढाउने तथा व्यवसायिक अनुशासन कायम गर्ने जिम्मेवारी अब उनको काँधमा आएको छ।

प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार १६:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको