ट्रम्पको चेतावनीलाई बेवास्ता गर्दै युद्ध जारी राख्ने अडानमा पुटिन



एजेन्सी, असार ३२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनीलाई बेवास्ता गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन संगको युद्ध जारी राख्ने अडान दोहराएका छन ।

पुटिनले युक्रेनमा युद्ध जारी राख्ने र आफ्नो नियन्त्रण क्षेत्र अझ फैलाउने आफनो योजना स्पष्ट पारेका छन । क्रेमलिनसँग निकट स्रोतहरूका अनुसार, पुटिन पश्चिमी मुलुकहरूको दबाबमा युद्ध रोकिने पक्षमा छैनन् । रुसले यसअघि नै कडा प्रतिबन्धहरूको सामना गरिसकेको र भविष्यमा थप आर्थिक प्रतिबन्ध झेल्ने सामथ्र्य राखेको उनको विश्वास छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हालै घोषणा गर्दै भनेका थिए कि यदि रुस ५० दिनभित्र शान्ति वार्ताको तयारीमा नआए, भने रूसी उत्पादन किन्नेलाई १०० प्रतिशत आयकर (टैरिफ) लगाइनेछ । युक्रेनलाई थप सैन्य सहायता दिने घोषणा गर्दै ट्रम्पले पैट्रियट एयर डिफेन्स मिसाइल प्रणालीसहित अन्य आक्रामक हथियार दिन सकिने संकेत पनि गरेका छन्।

तर, ट्रम्पको यस धम्कीलाई पुटिनले खासै महत्व दिएका छैनन्। क्रेमलिनका एक अधिकारीले भने, “पुटिनलाई लाग्छ अमेरिका र पश्चिमी मुलुकहरू युक्रेनमा शान्तिका लागि गम्भीरताका साथ वार्तामा छैनन्।“

स्रोतका अनुसार, ट्रम्प र पुटिनबीच विगतमा कैयौंपटक फोन वार्ता भइसकेको छ । अमेरिकाको विशेष दूत स्टीव विटकोफले समेत रुस भ्रमण गरेका थिएल । तर पुटिनले यस्ता छलफललाई गहिरो शान्ति योजना मानेका छैनन्।

रुसी विदेश मन्त्री सर्गेई लावरोभले ट्रम्पको धम्कीप्रति प्रतिक्रिया दिँदै भने, “हामीलाई नयाँ प्रतिबन्धको डर छैन। हामी पहिले नै अभूतपूर्व दबाबमा छौं, तर हाम्रो देश त्यसलाई सहन सक्षम छ।“

लावरोभले चीनको शाङ्घाई सहयोग संगठनको विदेश मन्त्री बैठकपछि पत्रकार सम्मेलनमा बताउँदै भने, “हामी हाम्रो आत्मनिर्भरतामा विश्वास गर्छौं। पश्चिम जति नै टैरिफ लगाओस्, रुस झुक्दैन।“

एकातिर ट्रम्पले युक्रेनलाई हमलाकारी हतियार दिने संकेत गरिरहेका छन् भने अर्कोतर्फ उनले युक्रेनलाई मस्कोमा आक्रमण नगर्न आग्रह गरेका छन्। सोमवार नाटो महासचिव मार्क रुटसँगको बैठकमा ट्रम्पले पुटिनमाथि असन्तुष्टि जनाउँदै भनेका थिए, “पुटिन दिनमा शान्तिको कुरा गर्छन् र रातमा बमबारी गराउँछन्।“

पुटिनको पछिल्लो अडानले युद्ध चाँडै रोकिने सम्भावना देखिँदैन। पुटिनको अडान र ट्रम्पको आक्रोशबीच युक्रेन फेरि एकपटक महाशक्तिहरूको रणनीतिक मैदान बन्न पुगेको छ । यो परिस्थितिमा आगामी दिनमा युक्रेनको भविष्य कता मोडिने हो, त्यो समयले नै देखाउनेछ।

प्रकाशित मिति: २०८२ असार ३२, बुधबार ०६:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको