बिहार चुनावमा सय सिटमा उम्मेदवारी दिने आसपाको घोषणा



एजेन्सी
पटना, साउन १ । बिहारको आसन्न विधानसभा निर्वाचनमा आजाद समाज पार्टी (कांशीराम) ले सय सिटमा उम्मेदवारी दिने घोषणा गरेको छ । बुधवार पटनामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रदेश अध्यक्ष जौहर आजादले सय सिटमा उम्मेदवारी दिने घोषणा गरेका हुन । उनका अनुसार ती १०० सिटमध्ये ६४ सिट यस्ता छन्, जहाँ अघिल्लो चुनावमा महागठबन्धनले हार बेहोरेको थियो।

जौहर आजादले भने, “हामीले आफ्नो आन्तरिक सर्वेक्षणका आधारमा यी सिट छानेका हौ । तीमध्ये धेरैजसो सिटहरूमा महागठबन्धनको अवस्था अहिले पनि कमजोर देखिएको छ । त्यसैले हामीले ती क्षेत्रमा आफ्नो पूर्ण शक्ति प्रयोग गर्दै उम्मेदवार खडा गर्ने निर्णय गरेका छौं।”

आजाद समाज पार्टी (आसपा) का प्रदेश अध्यक्षले भारतीय जनता पार्टी (भाजपा) र महागठबन्धन दुवैप्रति आलोचना गर्दै भने कि वर्तमान राजनीतिक परिदृश्यमा जनता वैकल्पिक शक्तिको खोजीमा छन् । उनले युवाहरूको सहभागिता र सामाजिक न्यायलाई पार्टीको प्रमुख एजेन्डा बताउँदै भने, “हामी राजनीतिमा परिवर्तन ल्याउन आएका हौं, परम्परागत दलहरूबाट निराश जनता अब नयाँ सोच र नेतृत्व खोजिरहेका छन्।”

भाजपाको सम्भावित जितको सवालमा जौहर आजादले व्यंग्यात्मक टिप्पणी गर्दै भने, “यदि बिहारमा फेरि भाजपा सत्तामा आइहाले भने त्यसको श्रेय दुई युवराजहरूलाई जान्छ।“ उनले यो टिप्पणी काँग्रेस नेता राहुल गान्धी र राजद नेता तेजस्वी यादवप्रति संकेत गर्दै गरेका थिए । उनका अनुसार यी दुई नेताहरूको अपरिपक्व नेतृत्व र रणनीतिक त्रुटिले महागठबन्धनको आधार कमजोर बनिरहेको छ।

जौहर आजादले स्पष्ट पारे कि बाँकी सिटमा उम्मेदवारीबारे निर्णय पार्टीका राष्ट्रिय अध्यक्ष चन्द्रशेखर ‘आजाद’ स्वयं गर्नेछन्। चन्द्रशेखर उत्तर प्रदेशको चर्चित दलित युवा नेता हुन्, जो संविधान र सामाजिक न्यायका पक्षमा खुलेर बोल्दै आएका छन्। उनको नेतृत्वमा आसपाले केही राज्यहरूमा वैकल्पिक दलको रूपमा पहिचान बनाइसकेको छ।

पार्टीले प्रदेशभर संगठन विस्तारलाई तीव्रता दिएको र सामाजिक मुद्दाहरूमा आम जनताको समर्थन बढिरहेको दाबी पनि अध्यक्ष आजादले गरे। उनका अनुसार आसपा अब सामाजिक न्यायको नारा मात्रै होइन, व्यवहारमा कार्यान्वयन गर्ने राजनीतिक शक्ति बन्ने लक्ष्यमा अघि बढिरहेको छ।

बिहारको राजनीतिक समीकरणमा आसपाको यो सक्रियता महत्त्वपूर्ण मानिएको छ। विशेषतः दलित, पिछडिएको वर्ग र युवाहरूको प्रभाव भएका क्षेत्रहरूमा पार्टीले आफ्नो प्रभाव विस्तार गर्ने रणनीति लिएको देखिन्छ। आगामी चुनावमा यसले महागठबन्धनको भोट बैंकमा असर पार्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन्। अब हेर्न बाँकी छ कि वैकल्पिक शक्तिको रूपमा उभिन खोजेको आसपा चुनावी मैदानमा कत्तिको प्रभावकारी रूपमा देखिन्छ।

प्रकाशित मिति: २०८२ श्रावण १, बिहिवार ०६:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको