कलैयाको मटिअर्वा मिनी भन्सार क्षेत्रमा तनाव, मल जफत गरेपछि किसान आक्रोशित



कलैया, साउन १ । बाराको कलैया उपमहानगरपालिका–१० अन्तर्गत मटिअर्वा मिनी भन्सार क्षेत्रमा भारतबाट ल्याइएको मल (खाद) जफत भएपछि स्थिति तनावपूर्ण बनेको छ।

भारतको सीमा क्षेत्रबाट खेतमा प्रयोग गर्न ल्याइएको दुई–दुई बोरा मल जफत गरेपछि स्थानीय किसानहरू आक्रोशित बनेका हुन्। भन्सार सुरक्षाकर्मीहरूले मल नियन्त्रणमा लिएपछि स्थिति चर्किएको हो। यस घटनापछि पूर्व वडाध्यक्ष तथा स्थानीय बासिन्दाले संयुक्त रूपमा सडकमा टायर बालेर भन्सार क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले सरकारले किसानको समस्या बुझ्नुभन्दा उल्टो, खेतीपातीमा प्रयोग हुने सामग्रीलाई अवरोध गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूका अनुसार सिजनको समयमा मलको अभावमा खेती गर्न कठिन भइरहेको बेला सरकारले सीमाबाट ल्याइएका थोरै मलसमेत जफत गरेर किसानलाई अपमानित गरेको छ।

विरोध प्रदर्शनको क्रममा स्थानीय बासिन्दा र पूर्व जनप्रतिनिधिहरूको सहभागिता उल्लेखनीय देखिएको छ। उनीहरूले तत्काल जफत गरिएको मल फिर्ता गर्न र किसानमाथिको ‘दमनकारी रवैया’ अन्त्य गर्न माग गरेका छन्।

घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रशासनले अवस्था सामान्य पार्ने प्रयास गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १, बिहिवार १०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको