एजेन्सी, साउन २ । ब्रिटेनका वैज्ञानिकहरूले पहिलोपटक तीन व्यक्तिको डीएनए प्रयोग गरेर आठ बच्चाहरूलाई जन्म दिँदै ‘डिजाइनर बेबी’ को दिशामा चिकित्सा विज्ञानको नयाँ अध्याय शुरु गरेको छ । ’थ्री पर्सन इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ)’ नामक प्रविधिको प्रयोगबाट जन्मिएका यी शिशुहरू जन्मजात आनुवंशिक रोगहरूबाट पूर्णरूपमा मुक्त हुने वैज्ञानिकहरूको दाबी छ।
न्यूकैसल विश्वविद्यालयका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको यो अनुसन्धानमा चार जना छोरी र चार जना छोरा जन्मिएका छन्, जसमा एउटै प्रकारका जुम्ल्याहा शिशुहरू पनि छन्। यी आठ बच्चाहरू सात महिलाबाट जन्मिएका हुन्, जसका माइटोकन्ड्रियल डीएनएमा गम्भीर रोगहरू लाग्ने सम्भावना उच्च थियो।
वैज्ञानिकहरूको अनुसार, जन्मेको बेला सबै बच्चा पूर्ण रूपमा स्वस्थ थिए र उनीहरूको शारीरिक विकास पनि सामान्य रूपमा भइरहेको छ। कतिपय बच्चाहरूमा रोग उत्पन्न गर्ने माइटोकन्ड्रियल डीएनएको मात्रा यति न्यून थियो कि त्यो चिन्ताको विषय बनेन।
कसरी गरिन्छ थ्री पर्सन आईभीएफ प्रक्रिया ?
यस प्रविधिमा आमाको निषेचित अण्डाको न्यूक्लियसलाई पिताको शुक्राणुको न्यूक्लियससँग मिलाएर एक तेस्रो पक्ष (स्वस्थ डोनर अण्डा) मा स्थानान्तरण गरिन्छ। यो प्रक्रियामा शिशुको माइटोकन्ड्रियल डीएनए तेस्रो व्यक्तिबाट लिइएको हुन्छ।
‘द न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित दुई वैज्ञानिक लेखहरूमा यो प्रविधालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। अनुसन्धानको नेतृत्व गरेकी प्रा. मेरी हर्बर्टका अनुसार, “माइटोकन्ड्रियल डोनेसन प्रविधि हाललाई जोखिम न्यूनीकरणका उपचारका रूपमा लिइएको छ। तर हाम्रो अनुसन्धानले यसको जोखिम घटाउने र रोग प्रतिरोधी सन्तान जन्माउनेबीचको खाडल कम गर्न मद्दत पु¥याउँछ।“
अब ’डिजाइनर बेबी’ को युग?
वैज्ञानिक उपलब्धि भए पनि यसले नैतिक बहस पनि जन्माएको छ। बच्चाहरूको विशेषता – जस्तै कपालको रङ, आँखा, उचाइ आदि – रोजेर सन्तान जन्माउने सम्भावना यसले नजिक ल्याएको छ।
ब्रिटेन सन् २०१५ मा यस्तो माइटोकन्ड्रियल डोनेसन उपचारलाई कानुनी मान्यता दिने पहिलो देश बनेको थियो। तर अमेरिका लगायत केही देशहरूमा यस प्रविधि प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।
के हो माइटोकन्ड्रियल रोग?
माइटोकन्ड्रियल रोग शरीरका मस्तिष्क, स्नायु, मांसपेशी, मुटु, कलेजो आदि अङ्गहरूलाई असर पार्न सक्छ। यस्तो उत्परिवर्तन ५ हजारमध्ये एक बच्चामा देखिने अनुमान गरिएको छ। यसका लक्षणहरूमा कमजोरी, दृष्टि र श्रवण समस्याहरू, अनियमित विकास र मुटुका समस्या सामेल हुन्छन्।
माइटोकन्ड्रियल डीएनए आमाबाट बच्चामा सर्ने भएकाले पुरुष संक्रमित भए पनि तिनले अगाडि रोग फैलाउँदैनन्। हालसम्म यस्तो रोगको उपचार छैन।
तर यो नयाँ प्रविधिको प्रयोगले भविष्यमा यस्तो रोग रोकथाम गर्ने दिशामा ठूलो आशा पलाएको छ। विज्ञानले ’डिजाइनर बेबी’ को सपना साकार पार्ने दिशामा कति अघि बढ्छ भन्ने हेर्न अब समयको पर्खाइ मात्र बाँकी छ।




