राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच औपचारिक एकता हुँदै



काठमाडौं, साउन २ । नेकपा ( राष्ट्रिय एकता अभियान ) र नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) बीच आज औपचारिक रुपमा पार्टी एकीकरण हुँदैछ । नेकपा (राष्ट्रिय एकता अभियान) का संयोजक वामदेव गौतमको नेतृत्वमा भैंसेपाटीमा सम्पन्न केन्द्रीय समिति बैठकले चार वर्षे समग्र गतिविधिको समीक्षा गर्दै एकीकरण गर्ने निर्णय गरेको हो ।

बैठकमा संयोजक गौतमको अध्यक्षतामा आयोजित छलफलमा दुवै पक्षका शीर्ष नेताहरूबीच पहिल्यै बनिसकेको सैद्धान्तिक समझदारीलाई औपचारिक अनुमोदन दिइएको छ । सो समझदारीअनुसार अब पार्टीको राजनीतिक दर्शन, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता कायम रहनेछ ।

स्रोतका अनुसार, पार्टी एकताको पछाडि नेपालको कम्युनिष्ट आन्दोलनलाई अझ सुदृढ, संगठित र प्रभावकारी बनाउने साझा उद्देश्य लुकेको छ । गौतमले पछिल्ला वर्षहरूमा नेकपा विभाजनपछि देखिएको विखण्डनको प्रवृत्तिलाई रोक्दै बामपन्थी शक्तिहरूको पुनः एकतामा जोड दिएका थिए ।

एकीकृत समाजवादीले यस एकता घोषणालाई महत्वपूर्ण अवसरको रूपमा लिँदै आफ्नो मातहतका सम्पूर्ण संगठन, जनवर्गीय संगठन र जिल्ला तथा प्रदेश कमिटीहरूलाई अनिवार्य रूपमा आजको कार्यक्रममा उपस्थित हुन निर्देशन दिएको छ ।

एकीकरणको औपचारिक घोषणा आज दिउँसो राष्ट्रिय सभागृहमा हुने जनाइएको छ । कार्यक्रममा दुबै पार्टीका नेताहरू, कार्यकर्ताहरू, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग एकीकरणले एकीकृत समाजवादी पार्टीको सांगठनिक आधारमा विस्तार हुने अपेक्षा गरिएको छ । साथै, आगामी निर्वाचनका सन्दर्भमा वाम शक्तिहरूबीच सहकार्यको ढोका खुल्ने विश्वास गरिएको छ ।

गौतम नेतृत्वको अभियान पार्टीले पछिल्ला वर्षहरूमा राष्ट्रिय एकता, समृद्धि र राजनीतिक स्थायित्वका मुद्दालाई प्राथमिकतामा राख्दै काम गर्दै आएको थियो । एकता सँगै, नयाँ शक्ति संरचना र रणनीतिक योजना मार्फत पार्टीले आगामी दिनमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रवार ०७:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको